बन्दाबन्दीमा आकासियो बजार भाउ : बजार अनुगमन शून्य

बन्दाबन्दी शुरु भएपछि बजार भाउ उच्चदरमा बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दाबी गरे पनि बजारमा मूल्य वृद्धि आकासिएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका समयमा टीकापुरलगायत आसपासका बजार क्षेत्रमा अनुगमन हुन नसक्दा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको हो ।

बजार अनुगमन हुन नसक्दा उपभोक्तालाई व्यापारीले भनेबमोजिम सामानको मूल्य तिर्नुपर्ने बाध्यता छ । “सबै कुरा किनेर खानुपर्छ, सामानको मूल्य छोइनसक्नु छ”, उपभोक्ता निरा काफ्लेले भन्नुभयो, “व्यापारीले पनि मौका पाएका छन् ।

अनुगमन छैन । सीमित पसल खुल्छन् जति भने पनि तिर्नुको विकल्प छैन ।” दैनिक किनेरै गुजारा गर्दै आएका स्थानीय चन्द्रकान्त अधिकारीले पैसा आउने माध्यम बन्द भए पनि खाने मुख बन्द नभएको बताउँदै व्यापारीले मौकामा चौका हानेको बताउनुभयो ।

उहाँले व्यापारीले मनोमानी ढङ्गले दैनिक उपभोग्य सामानको मूल्य बढाउँदा आफूहरुजस्ता परिवार भोकभोकै बस्नुपर्ने समय आइसकेको बताउनुभयो । टीकापुर नगरपालिकाले नगर उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको भए पनि बन्दाबन्दीको समयमा एकपटक पनि अनुगमन हुन सकेको छैन ।

नगरपालिकाकी नगर उपप्रमुख केशरी विष्टले व्यापार व्यवसाय नै बन्द भएको समयमा अनुगमनको कुनै अर्थ नहुने बताउनुभयो । “सबै बजार बन्द छ । कता केको अनुगमन गर्ने ?” नगर उपप्रमुख विष्टले भन्नुभयो, “अब सीमित समयका लागि बजार खोल्ने निर्णय भएको छ, त्यसैअनुसार बजार अनुगमनको काम अगाडि बढाउँछौँ ।”

उहाँले उपभोक्तालाई कालोबजारी भइरहेको तथ्य प्रमाण ल्याएर आउन आग्रह गर्दै दोषि देखिए जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताउनुभएयो । दैनिक उपभोग्य सामानमध्ये चामल, दाल, तेल, खुर्सानी, तरकारी, माछा, मासुको मूल्य दोब्बरले नै वृद्धि भएको छ ।

व्यापारीले आफूहरुले सामान खरिद गर्दा पनि महँगोमा खरिद गरेको बताउँदै त्यसमा थोरै फाइदा खाएर बेच्नु पर्ने बाध्यता रहेको बताएका छन् । औषधि व्यवसायी सङ्घका अध्यक्ष शङ्करप्रसाद शर्माले होलसेलर व्यापारीले नै सामानको मूल्य बढाएको बताउँदै रहरले नभई महँगोमा बेच्नु आफूहरुको बाध्यता रहेको बताउनुभयो । रासस


ताजा खबर