काँग्रेसले सरकारको ध्यानाकर्षण गराउने

नेपाली काँग्रेसले कोरोना भाइरसको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका अझै प्रभावकारी हुनुपर्ने औँल्याएको छ । यसका लागि पार्टी र संसदीय मोर्चाबाट पनि सरकारलाई घचघच्याउनुपर्ने र खबरदारी गर्ने निचोड काँग्रेसको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । केन्द्रीय सदस्य गगन थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारको कमजोरी लगायतका विषयमा बैठक केन्द्रित रहेको जानकारी दिनुभयो । त्यस विषयमा पार्टीका जिल्ला समितिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने निर्णय काँग्रेसले गरेको छ ।

कोरोना सङ्क्रमितको सरकारले प्रभावकारी उपचारको प्रबन्ध मिलाउन नसक्दा सङ्क्रमण बढेको नेताहरूले बताउनुभएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । यसका साथै कोरोनाले सिर्जना गरेको समस्या र सरकार तथा अन्य पक्षहरू कसरी अघि बढ्ने भनी संसद्मा सङ्कल्प प्रस्तावसमेत दर्ता गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कोरोनाको नेपालमा सुरुवात, सरकारबाट जारी बन्दाबन्दीको अवस्था तथा यसबाट समाजमा परेका प्रभावका बारेमा प्रस्तुत गर्नुभएको थियो ।  रासस


ताजा खबर