आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार मान्नु न्यायोचित हुने सरोकारवालाहरुको सुझाव

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो ।

विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताउनुभयो । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उहाँको भनाइ छ । केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उहाँको भनाइ छ । धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले भने मातहतका विद्यालयलाई कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई चार पटक परीक्षा लिन निर्देशन गरेको थियो । आफूहरूले धेरै पहिलेदेखि विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा विद्यालयलाई दिन माग गर्दै आएको स्पष्ट गर्दै प्याब्सन अध्यक्ष पुरीले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा प्रधानाध्यापक हावी हुन सक्ने खतरा औँल्याउँदै त्यसमा विचार पु-याउनुपर्ने अवस्था रहेको बताउनुभयो । विषय शिक्षकलाई नै विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार दिनुपर्ने उहाँको भनाइ छ । विशेष अवस्थाका कारण यस पटक विद्यालय तथा शिक्षकले पाएको जिम्मेवारी सदुपयोग गर्नुपर्ने सापकोटाको भनाइ छ ।

उहाँले प्रथम, दोस्रो र अन्तिम परीक्षाका आधारमा निर्णय गर्न सक्ने बताउनुभयो । कतिपय अवस्थामा विद्यार्थीले आन्तरिकभन्दा अन्तिम परीक्षामा धेरै मिहिनेत गर्ने र उत्कृष्ट अङ्कसमेत ल्याउने गरेको आफूहरूको अनुभव भएकाले यस विषयलाई समेत विद्यार्थीको मूल्याङ्कनका क्रममा विचार गर्नुपर्ने उहाँको भनाइ छ । केही विद्यालयले कक्षा १० को सेन्टअप परीक्षा नै नलिएका कारण मूल्याङ्कनमा समस्या पर्न सक्ने एन प्याब्सन अध्यक्ष सापकोटाले बताउनुभयो ।

सरकारी अधिकारीले यसको कार्यविधि बनाएर सरकारको निर्णय कार्यान्वयनमा ल्याउने जनाएका छन् । गत बुधबारको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दीले कक्षा १० को एसईई परीक्षालाई पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कन र राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी प्रमाणपत्र सार्वजनिक गर्ने निर्णय गरेको थियो । रासस


ताजा खबर