सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको समेत बताउनुभयो । उहाँले भारतीय नेताहरुले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत जानकारी दिनुभयो ।

उहाँले वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढङ्गले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने बताउनुभयो । “कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन, डा भट्टराईले भन्नुभयो, “अब अत्यन्त जिम्मेवार ढङ्गले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।” रासस


ताजा खबर