प्रधानमन्त्रीसँग सार्क महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव एसाला रुवान विराकुनले सोमबार शष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीले सार्कको वर्तमान अध्यक्षको रूपमा नेपालले अर्को शिखर सम्मेलनको उपयुक्त वातावरण बनाउन अन्य सदस्य राष्ट्रहरूसँग निरन्तर प्रयास र परामर्श भइरहेको बताउनुभएको छ ।

भेटका क्रममा सार्कको आगामी शिखर सम्मेलनका लागि वातावरण बनाउन आवश्यक पहल गर्न निर्देशनसमेत दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले दिगो विकासलगायतका साझा विकासका आकांक्षाहरू प्राप्त गर्नुका साथै यस क्षेत्रको कोरोना (कोभिड–१९ ) महामारी र गरिबीजस्ता साझा समस्याहरूको सामना गर्न सार्कको महत्व र सान्दर्भिकतालाई प्रष्ट्याउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सार्क क्षेत्रको वर्तमान स्थितिसँगै कोभिड–१९ लडाइका लागि सार्कको पहलका बारेमा छलफल भएको सार्क सचिवालयले जनाएको छ ।

कोरोनाविरुद्ध लड्न सार्क नेताहरूको भिडियो सम्मेलनलाई स्मरण गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर र जीवनको गुणस्तर बढाउन सार्क प्रक्रियालाई पुनर्जीवित गर्न र अझ सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

सचिवालयका अनुसार, शिष्टाचार भेटका क्रममा सार्कका चौधौँ महासचिवको रूपमा नियुक्त हुनु भएकोमा विराकुनलाई प्रधानमन्त्री ओलीले सफल कार्यकालको लागि बधाई दिनुभयो । प्रधानमन्त्री ओलीले दक्षिण एसियासम्बन्धी आफ्नो विशाल कूटनीतिक अनुभव र ज्ञानका साथ महासचिवले सार्क प्रक्रियालाई थप सुदृढ पार्न ठूलो योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो । महासचिवको हैसियतमा सार्कका हरेक गतिविधि सफलताका साथ पूरा गर्न नेपाल सरकारको पूर्ण समर्थन रहेको आश्वासनसमेत प्रधानमन्त्री ओलीले दिनुभयो ।

सार्क महासचिव विराकुनले आफूलाई सार्कका महासचिवको रूपमा मनोनयन गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो । सार्क सचिवालयलाई नेपाल सरकारले दिएको अनमोल सहयोगको सराहना गर्दै महासचिव विराकुनले नेपाल सरकारले महासचिवको रूपमा आफ्नो दायित्व पूरा गर्न पनि यस्तै सहयोग र मार्गनिर्देशन आगामि दिनमा दिने आशा व्यक्त गर्नुभएको थियो ।

महासचिव विराकुनले प्रधानमन्त्रीलाई सार्क सचिवालयको सम्पादन गरेका पछिल्ला गतिविधिहरूको बारेमा जानकारी गराउनुभयो । जस अनुसार कोभिड–१९ महामारीविरुद्धको लडाइँमा भइरहेका गतिविधिसमेत सामेल रहेको सचिवालयले प्रस्ट पारेको छ ।

सार्कमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स, भुटान र अफगानिस्तान सदस्य रहेका छन् । पाँच वर्षअघि नेपालमा १८ औँ सार्क शिखर सम्मेलनपछि १९ औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो । तर भारत पाकिस्तानबीचको तनावका कारण त्यो शिखर सम्मेलन अन्योलमै रहेको छ ।

सार्क क्षेत्रको आपसी विकासलाई सहकार्यका आधारमा अघि बढाउने र यस क्षेत्रका ७० करोड विपन्न जनताको जीवनस्तर उकास्ने लक्ष्य सार्कले बोकेको छ । रासस


ताजा खबर