रोटा भाइरस विरुद्धको ३ लाख बढी भाइल खोप नेपाल भित्रिएको छ। ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन (गाभी) को सहयोगमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको हो।
खोप भित्रिएसँगै यही महिनाबाट प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो। असार १५ पछि यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याउने शाखाको तयारी छ । डा गौतमका अनुसार यो खोप एक साताभित्र केन्द्रबाट सात वटै प्रदेशमा पठाइनेछ।
प्रदेशले आफु मातहतका जिल्लामा यो खोप पठाउँछ। जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिइने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘एक साताभित्र सबै प्रदेशमा यो खोप पठाउँछौ। प्रदेशले जिल्लामा पठाउँछ र जिल्लाले आफ्नो नियमित तालिका अनुसार बालबालिकालाई यो खोप दिन्छ।’
एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई यो खोप दिइने डा गौतमले जानकारी दिए। रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो।
यो खोप जेठ महिनाबाट सुरु गर्ने सरकारको योजना थियो। विश्व महामारीको रुप लिएको कोरोना कारण खोप ल्याउन ढिलाई भएको डा गौतमले बताउनुभयो।