स्पेनिस ला लिगामा बार्सिलोना र सेभिल्लाले बराबरी खेले

उपाधि होडमा अति नै महत्वपूर्ण खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो । यस नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले आफूले गोल गर्न सकेन भने बार्सिलोनालाई पनि गोल गर्न दिएन । गोलरहित यो बराबरीले लिगका ८ खेल बाँकी हुँदा उपाधि होड अति खुला बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडसँगको अंकदूरी पाँच कायम गर्ने मौका बार्सिलोनाले गुमायो । यसको अर्थ आइतबार राति रियल सोसिडाडको खेलमा जित निकाले रियल मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्ने छ ।

शुक्रबार रातिको खेलमा लियोनल मेस्सीले पहिलो हाफमा प्रहार गरेको फ्रि–किक बारमा लागेर गयो। सेभिल्लाको डिफेन्स तोड्न बार्सिलोनालाई मुश्किल परेको हो ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक रहेको छ । तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत शुक्रबार राति नै भएका अरु खेलमा भिल्लारियलले ग्रानाडालाई १–० ले हरायो । यस्तै मालोर्का र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।


ताजा खबर