- गोविन्द गुरुङ
धेरै नाफा गर्ने र व्यवसायको आकार ठूलो हुने बैंक राम्रो तथा सीमित नाफा गर्ने वा गति केही कम हुने बैंक कामै नलाग्ने भन्ने व्याख्या हुन थालेको छ । तर, यहाँ बैंकको स्वास्थ्यलाई नाफा वृद्धि र व्यवसाय वृद्धिसँग मात्र जोड्न नमिल्ने आसय व्यक्त गर्ने व्यक्ति पनि छन् । तिनैमध्ये हुन् सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ । नाफा देखिएको बैंकचाहिँ ठूलो र बलियो बैंकका रूपमा बुझिने र सामाजिक उत्तरदायित्वदेखि सबै नियम कानुन पालना गरेर ठिक्क, तर दिगो नाफा गर्ने बैंकलाई कमजोरको संज्ञा दिने चलनको सन्दर्भमा सिभिल बैंकका सिइओ गुरुङसँगको सफल कुराकानीको सम्पादित अंश :
तपाईंले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दा बैंकमा धेरै समस्या थिए । विभिन्न विभाग बनाएर अघि बढ्ने बताउनुभएको थियो । अहिलेसम्म के कस्ता परिवर्तन गरो भन्ने लाग्छ ?
हामीले केही संरचनागत परिवर्तन गर्यौं । त्यो परिवर्तनमा प्रमुख रूपमा कर्जा, सञ्चालन र बजार जोखिमलाई न्यूनीकरण वा व्यवस्थापन गर्ने कुरालाई मैले प्राथमिकतामा राखो जसमा कर्जा जोखिमलाई न्यूनीकरण गर्ने, खराब कर्जा घटाउने, पुराना खराब कर्जा उठाउने र नयाँ लगानीमा विशेष सावधानी अपनाउने उद्देश्य थियो । बैंकको सेवालाई कसरी परिष्कृत गर्ने, ग्राहकले कुनै पनि गुनासो गर्न नपरोस् भन्ने वातावरण बनाउन विभिन्न सेवा तथा सुविधा थप्ने मात्र नभई सेवाको वितरणमा पनि व्यापक सुधार ल्याउन हामीले संरचनागत परिवर्तन गरेका छौँ । त्यसमा हामीले कर्जा नियन्त्रण विभाग भनेर नयाँ विभाग थप्यौँ ।
त्यस्तै, हामीले कर्जालाई अझ सुरक्षित गर्न कर्जा निरीक्षण तथा अनुगमन विभाग खडा गरी कर्जा दिएपश्चात् ऋणीले उद्देश्यबमोजिम कर्जा उपयोग गरे नगरेको अनुगमन गरेका छौँ । त्यसबाहेक कर्जा प्रशासन विभागले पनि कर्जासम्बन्धी कारोबारको कार्यान्वयन तथा नियन्त्रण गर्ने कार्य गर्छ ।
त्यस्तै, एकीकृत जोखिम व्यवस्थापन विभागले पनि अन्य जोखिमलगायत कर्जा जोखिमलाई पनि न्यूनीकरण गर्न निरन्तर रूपमा निरीक्षण अनुगमन तथा सल्लाह-सुझाब तथा निर्देशन गरिरहेकै हुन्छ ।
जोखिमकै कुरा गर्दा बैंकको अवस्था कस्तो छ ?
समग्र जोखिमको आधारमा सिभिल बैंक सुदृढ अवस्थामा छ । हामीले संस्थागत सुशासन र अनुपालनको सन्दर्भमा शून्य सहनशीलताको नीति अपनाएका छाँै । कर्जा जोखिमबाहेक सञ्चालन जोखिम, बजार जोखिमलगायतलाई न्यूनीकरण गर्न बैंकले आवश्यक संरचना निर्माण गरी चुस्तदुरुस्त ढंगले काम गरी आएको छ । बैंकको हरेक कामलाई निर्देशित गर्न स्पष्ट कार्यविधि बनाई लागू गरिएको छ । बजार जोखिम व्यवस्थापनमा पनि हाम्रो ट्रेजरी मिड अफिसलगायत एकीकृत जोखिम व्यवस्थापन विभागले निरन्तर रूपमा निरीक्षण गरेको छ । अहिले मुख्य चुनौतीका रूपमा देखिएको सूचना प्रविधिसम्बन्धी जोखिमलाई पनि नियन्त्रण तथा न्यूनीकरण गर्न हामीले केही वर्षअगाडिदेखि सूचना प्रविधि सुरक्षा अधिकारीको नियुक्ति गरी यससँग सम्बन्धित जोखिमलाई नियन्त्रण गर्दै आएका छौँ ।
बैंकले हालसालै सेवाको गुणस्तर र सञ्चालन व्यवस्थापनको सम्बन्धमा आइएसओ ९००१-१५००० प्रमाणपत्र प्राप्त गरेको छ जुन नेपालमा हालसम्म चारवटा बैंकले मात्र प्राप्त गरेका छन् ।
स्थानीय तहमा सरकार र राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकका शाखा खुले । कुन ठाउँमा कसले खोल्ने भन्ने सहमति कसरी भयो ? र, यसको व्यावसायिक सम्भाव्यता कस्तो छ ?
हामीले नेपाल राष्ट्र बैंकको नीतिअनुरूप बैंक नभएका १७ वटा गाउँपालिका–नगरपालिकामा शाखा खोल्यौँ । धेरैजसो ठाउँमा बैंकबीच आन्तरिक सहमतिमै भयो भने केही ठाउँमा राष्ट्र बैंकको निर्देशनमा शाखा खोल्यौँ । नयाँ शाखा खुलेका सबैजसो ठाउँमा सरकारी कारोबार हाम्रै शाखामार्फत हुने हुनाले व्यावसायिक सम्भाव्यता देखिन्छ । तर, पूर्वाधारको अभावले गर्दा बैंक सञ्चालनमा कठिनाइ भोग्नुपरेको र सञ्चालन जोखिम पनि बढ्न गएको छ । नीतिगत रूपमा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउनु राम्रो कुरा हो, त्यसैले हामीले यसको पालना गरेका छौँ ।
बैंकका एटिएम असुरक्षित भएको भावना बढ्दै गएको देखिन्छ नि ?
हो, केही हदसम्म अहिले सूचना प्रविधिको जोखिम बढ्दै गएको छ, जसले गर्दा एटिएमलगायत सूचना प्रविधिसँग सम्बन्धित सेवामा केही असुरक्षाको भावना बढ्नु स्वाभाविक हो । केही दिनअघि भएको एटिएमको रकम चोरीको घटनामा बैंकको तदारुकता र सुरक्षा निकायको समयमै भएको समन्वयले ठूलो घटना हुनबाट रोकियो । यसले बैंकले एटिएम कारोबार निगरानीमा देखाएको संवेदनशीलता तथा चनाखोपन प्रष्ट भएको छ । त्यसबाहेक नेपालका सबै बैंकले सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवासुविधाको सुरक्षाका लागि यथेष्ट लगानी गरेका छन् । त्यसैले अरू देशमा भएजस्तो ठूला चोरी–ठगीका घटना हामीकहाँ भएका छैनन् । साथै, नेपालका बैंकसँग हाल देखिएका सानातिना घटनाबाट हुन सक्ने जोखिम थेग्नका लागि पर्याप्त पुँजी कोष व्यवस्था पनि रहेको छ । यसर्थ अहिलेको घटनाबाट आमग्राहकले असुरक्षित महसुस गर्नुपर्ने वा अविश्वास गरिहाल्नुपर्ने अवस्था छैन । हामीले भिसा कार्ड, मास्टरकार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायत सेवामा अन्तर्राष्ट्रियस्तरको न्यूनतम सुरक्षा मापदण्ड अपनाउनैपर्छ । नभए ती सेवा ल्याउनै पाइँदैन । यसमा सुरक्षाका विभिन्न चरण हुन्छन् । बैंकले सबै पालना गरेका छन् । बैंकले सुरक्षामा लगानी गरेका छैनन् भन्ने कुरा चोक र चिया होटेलमा गफ गर्ने विषय मात्र हो । सिस्टम र आइटी सेक्युरिटीको प्रोटोकलले समात्न नसकेको अपराधी कर्मचारीको सजगताले समातेको छ । यस्ता केही समस्या समय–समयमा आउँछन् र यसको समाधान पनि आउँछ ।
निष्कृय कर्जा व्यवस्थापनमा तपाईंको कार्यकाल कत्तिको उपलब्धिमूलक रह्यो ?
समग्रमा निष्कृय कर्जा व्यवस्थापन उपलब्धिमूलक नै रह्यो । सवा दुई वर्षअघि मैले यो बैंकको व्यवस्थापकीय नेतृत्व लिँदा ०७३ साल चैत मसान्तमा एनपिएल ४.६६ थियो । त्यसलाई घटाउँदै अहिले २.३७ प्रतिशतमा ल्याएका छौँ । यो आफैँमा एउटा ठूलो फड्को हो । यसैले पनि धेरै कुरा देखाउँछ । अर्को भनेको हाम्रो जति निष्क्रिय कर्जा छ त्यसको १२२ प्रतिशत रकमबराबर कर्जा नोक्सानी व्यवस्था गरेका छौँ । त्यो सबै रकम नउठ्दा पनि बैंकलाई एक रुपैयाँ पनि थप घाटा पर्दैन । तर, हामी त्यो सबै उठाउन सक्छौँ भन्ने विश्वासमा छौँ, किनभने ती कर्जामा धितो सुरक्षण पनि त्यसैअनुसारको छ ।
त्यसो भए बैंक सुरक्षित तवरले अघि बढिरहेको छ भन्ने दाबी हो ?
पक्कै हो । गएको दुई वर्षयता नेपाल ठूलो तरलता संकटबाट गुज्रिरहेको छ । मुख्यतः लगानीयोग्य तरलताको अभावमा पर्याप्त मात्रामा कर्जा लगानीको विस्तार हुन सकेको छैन । यो अवस्थामा संयमित तरिकाले व्यवसाय गर्नुपर्छ भनेर हामीले योजना बनायौँ । केही बैंकले जस्तो अप्ठ्यारो समयमा पनि आक्रामक तरिकाले व्यवसाय बढाउनेमा हामीले ध्यान दिएनौँ । बैंकको आ-आफ्नो रणनीति हुन्छ । हामीले हाम्रो दृष्टिकोणमा हेर्दा जतिखेर बजार असहज हुन्छ, अर्थतन्त्र असहज हुन्छ अथवा समग्र तरलताको अवस्था असहज हुन्छ, त्यतिवेला हामी अत्यन्त संयमित एवं संवेदनशील भएर काम गर्नुपर्ने हुन्छ, जसले बैंकको दीर्घकालीन भविष्य सुनिश्चित गर्छ ।
तथ्यांकले बैंक कमजोर देखाउँछ भन्छन् नि ?
अघिल्लो वर्ष हामीले करिब १८ प्रतिशत निक्षेप र २१ प्रतिशत कर्जा बढाएका थियौँ भने यो वर्ष हामीले कर्जामा १२ प्रतिशत वृद्धि गरेका छौँ भने निक्षेपमा करिब १८ प्रतिशत वृद्धि गरेका छौँ । ‘क’ वर्गका बैंकको समग्र वृद्धिको आधारमा तुलना गर्दा हामी कर्जा विस्तारमा थोरै पछाडि भए पनि निक्षेपतर्फ औसत वृद्धि सरहनै छौँ ।
निक्षेप, कर्जा तथा नाफाको आकारमा हामी तल भए पनि बैंक सुरक्षित र राम्रो छ भन्ने कुरा अन्य सूचकले देखाइरहेका छन् । क्यामेल रेटिङको आधारमा भन्नुपर्दा कुनै पनि बैंकको स्वास्थ्य कस्तो छ भनेर बुझ्न क्यापिटल (पुँजी), एसेट्स (सम्पत्ति), म्यानेजमेन्ट (व्यवस्थापन), अर्निङ (कमाइ) र लिक्विडिटी (तरलता) पर्दछन् । यसमा सबैभन्दा महत्वपूर्ण पुँजी हुन्छ । बैंकमा कुनै पनि कारणले नोक्सानी भएमा त्यस्तो जोखिम वहन गर्न सक्ने क्षमता कति छ भन्ने कुरा पुँजीको पर्याप्तताले निर्धारण गर्दछ । पुँजी पर्याप्तताको आधारमा सिभिल बलियो बैंकमध्ये पर्दछ । बैंकको पुँजीको पर्याप्तता अनुपात १८ प्रतिशत रहेको छ । सही तरिकाले तरलता व्यवस्थापन हुन नसकेमा बैंक धराशायी हुने खतरा पनि हुन्छ । हाम्रो बैंकले गत असार मसान्तमा २६ प्रतिशतको हाराहारीमा तरलता कायम गरेका छौँ । त्यो भनेको हामीले कर्जा लगानीमा अलिकति नियन्त्रण गर्यौं र निक्षेप अलिकति बढायौँ जसले गर्दा पर्याप्त तरलताको व्यवस्थापन भएको छ । कर्जा निक्षेप अनुपात पनि असार मसान्तमा ७५.५० प्रतिशत राखेका छौँ । यसले पनि बैंकको तरलताको अवस्था सहज छ भन्ने देखाउँछ ।
गुरुङ सिभिल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।