रोबाेटको प्रयोगसँगै माइक्रोसफ्टले हटायो दुई दर्जन पत्रकार

रोबाेटको प्रयोग गरेर काम गर्न थालेपछि माइक्रोसफ्टले दुई दर्जन पत्रकारलाई बर्खास्त गरेको छ ।

माइक्रोसफ्टको समाचार वेबसाइट एमएसएनको गृहपृष्ठ र इडेज ब्राउजरमा काम गर्ने पत्रकारको सट्टामा आर्टिफिसियल इन्टेलिजेन्सी सफ्टवेयरमा आधारित रोबाेटको प्रयोग गर्ने भएको हो ।

पिए मिडियाअन्तर्गत समाचार सम्पादन गर्ने २७ कर्मचारीको सट्टामा रोबाेटको प्रयोग गरिने भएको हो ।

पिए मिडियाअन्तर्गतबाट माइक्रोसफ्टका लागि काम गर्ने ती कर्मचारीको सट्टामा रोबाेट प्रयोग गर्ने सूचना माइक्रोसफ्टले पिए मिडियालाई दिएको हो ।

कर्मचारी टोलीका एक कमर्चारीले भनेका छन्, ‘मैले लामो समयदेखि कसरी रोबाेटले मानिसको जागिर छुटाउनेछन् भन्ने समाचार पढ्दै आइरहेको थिएँ, आज मेरो जागिर रोबाेटले गर्दा जाँदै छ ।’

यद्यपि उनले मानिसको सट्टामा रोबाेटको प्रयोग गर्नु जोखिमपूर्ण काम रहेको बताएका छन् ।

ती कर्मचारीहरूले मुख्य समाचार सम्पादन गर्ने नभई अन्य समाचार वेबसाइटका समाचार माइक्रोेसफ्टको वेबसाइटमा हाल्ने काम गर्दै आइरहेका थिए ।

त्यसरी हालिने समाचारको हेडलाइन र स्थान सम्पादन गरी मिलाएर हाल्ने गर्नुपर्थ्याे । अब त्यो काम सफ्टवेयरले नै गर्ने भएको हो ।

माइक्रोसफ्टका प्रवक्ताले भनेका छन्, ‘हामीले आर्टिफिसियल इन्टेलिजेन्सीको विकास र विस्तारका क्रममा यसो गर्ने भएका हौँ, न कि महामारीका कारण ।’

गुगललगायतका ठूला प्रविधि कम्पनीहरूले मानिसको सट्टामा रोबाेटको प्रयोग गर्न थालेका छन् ।

यसले निकट भविष्यमा लाखौँको जागिर संकटमा पार्ने समस्या निम्त्याउने देखिएको छ । रोयटर्स


ताजा खबर