नेकपा अध्यक्षद्वयको छलफल सकियो : महासचिव पौडेल र जनार्दन शर्मा पनि सहभागी

 पार्टीभित्र देखिएको समस्या समाधान गरी पार्टीलाई एकताबद्ध राख्न नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयका साथै महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो।

नेकपा स्थायी समितिको मंगलबार बसेको बैठक निर्धारित कार्यसूचीभन्दा भिन्न, असार १४ गते मदन जयन्ती कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई पदबाट हटाउन बिभिन्न शक्तिहरु लागेको भनी दिनुभएको अभिव्यक्तिमा केन्द्रित भएपछि विवाद देखिदै आएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले हिजो साँझ ५ः०० बजेदेखि संघीय संसदको दुबै सदनको अधिवेशन अन्त्य गरेपछि स्थायी समिति बैठकले नयाँ मोड लिएको छ ।

बिहीबार साँझ केहीबेर मात्र बसेको स्थायी समिति बैठकमा नेताहरुले पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वयलाई जिम्मा दिएपछि आज दुबै अध्यक्षबीच छलफल भएको हो ।

यसैबीच, पार्टी विवाद नचर्काउन र पार्टी विभाजन हुन नदिन नेकपाका दोस्रो तहका नेताहरु सक्रिय हुनुभएको छ । आज विहान मन्त्री निवास पुल्चोकमा दोस्रो तहका नेताहरुबीच छलफल भएको हो ।

नेकपा स्थायी समितिको बैठक भोलि ११ बजे बोलाइएको छ ।


ताजा खबर