उपत्यकामा ५३ सहित थप ३ सय ११ जनामा कोरोना : संक्रमित संख्या १९ हजार नाघ्यो

कोरोना भाइरसबाट आज काठमाडौ उपत्यकामा ५३ जना सहित जम्मा ३ सय ११ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौमा ४८, भक्तपुरमा १ र ललितपुरमा ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ नमूनाको रियल टाईम पिसिआर विधिबाट परीक्षण गर्दा ३ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल सम्म ३ लाख ५२ हजार ३ सय ७ वटा नमूनाको रियल टाईम पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज १ सय २१ जना संक्रमण मुक्त भएसंगै कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।

देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरमा ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने हाल सम्म ७२ दशमलव ८ प्रतिशत संक्रमित संक्रमण मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज बझाङको बुङ्गल गाउँपालिका वडा नं. ३ का ६५ वर्षीय पुरूषको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

मृतक पुरूष भारतको बैंलोरबाट असार २४ गते घर आएको र श्रावण ९ गते आफ्नै घरमा मृत्यु भएपछि परीक्षण गर्दा संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर