काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पाएका छन्। जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
खेलकुद ऐनको प्रावधानका कारण अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। पराजुली राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत भक्तपुर जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षकका रुपमा कार्यरत छन्। त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
राष्ट्रिय खेलकुद ऐन– २०७७ मा राखेपमा कार्यरत कुनैपनि कर्मचारीले कुनै पनि तहको खेलकुद संघमा बस्न नपाउने प्रावधान रहेको छ। सोही अनुसार पराजुलीले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। नयाँ ऐनकै प्रावधान अनुसार कार्यसमितिका उपाध्यक्ष राजकुमार लामाले पनि पदबाट राजीनामा दिइसकेका छन्। उनी सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिमा तेक्वान्दो सहायक प्रशिक्षक हुन्। उक्त पद भने पछि पदपूर्ति गरिने कार्यसमितिले जनाएको छ।
निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे।
खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए। सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उनको खुट्टामा गम्भीर चोट लागे पछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो। चोटमुक्त भएपछि पनि ग्योरोगी (फाइट) विधालाई त्यागी उनले पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गरेका थिए।हाल उनी प्रशिक्षक र निर्णायकका रुपमा बढी सक्रिय छन्। खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन्।