आज कोरोनाका ६४१ नयाँ संक्रमित थपिए : कुल २६,६६०

उपत्यकाका एक सय ७२ जना सहित आज ६ सय ४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँका एक सय २६ जना, ललितपुरका ३८ र भक्तपुरका ८ जना सहित आज थप ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

हालसम्म कूल सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको समेत प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी आज थप एक सय ३४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या १७ हजार ३ सय ३५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण मुक्त हुनेको दर ६५ प्रतिशत रहेको छ । यसै गरी आज देशभर सक्रिय सङ्क्रमित ९ हजार २ सय २१ जना अर्थात् ३४ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा १५ हजार २ सय ४३ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा ८ हजार ७ सय २४ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ वटा पिसीआर गरिएको र हालसम्म कूल ५ लाख १७ हजार ९ सय ७ वटा रियल टाइम पीसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हाल सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८१ जना पुरुष र २३ जना महिला सहित एक सय ४ पुगेको प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमणबाट पर्सा जिल्लाका एक पुरुष र मोरङ जिल्लाका एक महिलाको मृत्यु भएको प्रा. डा गौतमले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै हरेक व्यक्तिले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँ उपत्यका सहित तराईका जिल्लाहरूमा दिनानुदिन संक्रमण वृद्धि भइरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न अनुरोध गरेको हो ।


ताजा खबर