डा. ए.के. कश्यप
अध्यक्ष ग्याष्ट्रो एण्ड लिभर फाउण्डेशन नेपाल
दुखाई पेटमा हुने रोग धेरै रोगको मिश्रण हो । पेट दुखाइले दिसामा रगत आउने सम्म हुन्छ । पेटका तीनवटा भागहरू हुन्छन्– नाइटोभन्दा माथि माथिल्लो पेट, नाइटोकै वरिपरिको भाग र नाइटोभन्दा तलतिरको भाग । माथिल्लो पेटमा ग्यास्ट्रिक ग्यास्ट्राइटिस, रिफ्लक्स डिजिज, प्याङ्क्रियाटाइटिस, लिभर, हेपाटाइटिसको समस्या हुन सक्छ । सानो आन्द्राको समस्या भयो भने बीचको पेट र ठूलो आन्द्रामा समस्या हुँदा तल्लो पेट दुख्छ ।
बिरामीहरू पेट दुखाइ लिएर आउँछन् तर उनीहरूले पहिलेदेखि औषधि सेवन गरेका हुन्छन् । मल्टिपल इन्डोस्कोपी गरिसकेको, औषधि सेवनबाट केही हदसम्म ठीक गरेको तर औषधि सेवनपछि फेरि समस्या देखापर्ने गरेका बिरामीहरू बढी हुन्छन् ।
विभिन्न अस्पतालमा उपचार गरेर आउने हुँदा डायग्नोसिस गर्न गाह्रो हुन्छ । हाम्रो पेटको भागमा खाने नली, पेट, सानो आन्द्रा हुन्छ । धेरैजसो पेटको दुखाइ ग्यास्ट्रिकले हुन्छ भन्छौँ तर त्यसलाई ग्यास्ट्राइटिस भनिन्छ । हेलिकोब्याक्टर प्राइलोरी किटाणुको संक्रमणले ग्यास्ट्राइटिस हुन्छ । त्यसको लागि इन्डोस्कोपी गरेर पेटमा हेरी घाउ छ कि छैन, सानो आन्द्रामा पनि छ कि छैन वा हेलिकोब्याक्टरी किटाणुको संक्रमण भएको छ कि छैन हेरेर उपचार गरिन्छ ।
धेरै समयदेखि पेट दुखिरहने बिरामीहरू ग्यास्ट्राइटिसको समस्याले मात्रै पीडित होइनन् । हाम्रो लिभर (कलेजो) पेटको माथिको भागमा हुन्छ र पित्तको थैली तल हुन्छ । यसरी पित्तको थैलीबाट आएको नलीहरू सानो आन्द्रामा गएर बगेको हुन्छ । यसको काम खाना खाइसकेपछि पित्तको थैलीबाट पित्त गएर पाचन प्रणाली जाने हो । त्यहीँ जाँदा पित्त थैलीमा पत्थरी हुँदा पेट दुख्ने हुन्छ । इन्फेक्सन भयो भने कोलोन्जाईटिस भएर पित्त आउने ठाउँ ब्लक भइदिन्छ । त्यसले र कमन बाइल डक्ट (सीबीडी) त्यसमा भएको सानो ढुङ्गा, बालुवाहरू जहाँ पनि अड्किन्छ, त्यस्तो हुँदा पनि पेट दुख्छ ।
प्याङ्क्रियाज पेटको पछाडिको भागमा हुन्छ । कसैले वास्ता पनि गर्दैनन् तर त्यो नली पेटमा नै हुन्छ । पित्तले चिल्लोमात्रै पचाउँछ भने प्याङ्क्रियाजले धेरै काम गर्छ– इन्सुलिन बनाउने, हाम्रो शरीरमा सुगरलाई ब्यालेन्स गर्ने र पाचन प्रक्रियामा धेरैजसो कार्बोहाइड्रेड, प्रोटिन सबै पचाउने काम गर्छ ।
प्याङ्क्रियाटाइटिस भनेको प्याङ्क्रियाज सुन्निनु हो । त्यसले पनि लामो समयसम्म पेट दुख्ने समस्या हुन्छ । लामो समयदेखि प्याङ्क्रियाटाइटिस हुनु क्रोनिक प्याङ्क्रियाटाइटिस हो । त्यसको लागि ट्रिटमेन्ट फरक हुन्छ । अहिले ग्यास्ट्रिकको लागि हैन, क्रोनिक प्याङ्क्रियाटाइटिसको ट्रिटमेन्ट गर्नुपर्छ भन्ने थाहा भएको छ ।
अल्ट्रासाउन्ड बाहिरबाट गरिन्छ भने इन्डोस्कोपी पेटभित्र सानो आन्द्रामा गएर गरिन्छ । त्यसो गर्दा प्याङ्क्रियाज पूरै छर्लङ्ग देखिन्छ फुलेको, सुकेको छ कि छैन भनेर । पित्तको थैलीभित्र भएको ढुंगा पित्तको थैलीमा बगेर आएको नलीमा अड्केको हुन्छ, त्यसलाई ईआरसीपी गरेर निकाल्छौं । त्यसको लागि पनि अप्रेसन गर्नुपर्दैन ।
ग्यास्ट्राइटिस हुनेले दूध खाने कि नखाने भन्नेमा दुइटा धारणा छन् । कसै–कसैलाई दूध खाँदा पेट फुलेर आउँछ भने कसैलाई दूध नभई हुँदैन । प्राणीहरूमध्ये मानिसमात्रै हो बुढेसकालसम्म दूध खाने । म दूध बार्ने सल्लाह दिन्छु । दूध पचाउने ल्याक्टेज इन्जाइम उमेरअनुसार हामीमा घट्दै जान्छ, अनि पचाउन गाह्रो हुन्छ ।
ग्यास्ट्रिक हुने हेलिकोब्याक्टो पाइलोरी र पेनकिलरले ठूलो मात्रामा पेटको ग्यासट्राइटिस हुने हुन्छ । यसले पेट दुखाउनेमात्र नभएर घाउ, अल्सरसमेत हुन्छ । अर्को एसप्रिन भन्ने औषधि छ जुन रगत पातलो बनाउन प्रयोग गरिन्छ । विशेषगरी मुटुरोगीहरूले प्रयोग गर्छन् । यसले रगत पातलो बनाउँछ तर पेटमा गएर यसले अल्सरसमेत गर्छ । सानो आन्द्रामा घाउ बनाउन सक्छ ।
ग्यासट्राइटिसबाट बच्न रक्सी, चुरोट नखाने, एक्सरसाइज गर्ने, मोटोपन भए चिल्लो पदार्थ कम गर्ने, उमेरअनुसार ४० वर्षमाथिका व्यक्तिले १ देखि २ वर्षमा चेक गर्ने । पेट दुखेको छ भनेर औषधि पसलबाट औषधि किन्ने भन्दा पनि एकचोटि पेट तथा कलेजो विशेषज्ञसँग सल्लाह लिँदा राम्रो हुन्छ ।