स्वास्थ्यमन्त्रीलाई विज्ञको प्रस्तावः उत्पादन बढाएर सम्पूर्ण नगरिकलाई निःशुल्क मास्क बाँडौं

विज्ञहरूसँग छलफल स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्नुभयो । मन्त्री ढकालले कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला बढाउनुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी हुँदै डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले नमुना परीक्षको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताउनुभयो ।

छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवना कोइरालालले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा स्वास्थ्य मन्त्रालयकाका  तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।


ताजा खबर