रुड्यार्ड किप्लिङले आमालाई उच्च स्थान र महत्व दिँदै भनेका छन्, ‘भगवान् सबै ठाउँ पुग्न सक्दैनन्, त्यसैले उनले आमाको सृष्टि गरे ।’ आमा, मातृत्व, सृष्टिकर्ता जसको महत्व जति शब्द खर्चे पनि, जति विशेषण जोडे पनि अपूर्ण नै हुन्छ । ओशो भन्नुहुन्छ, ‘एक नारी आफ्नो सन्तानको जन्मसँगै आमाको रूपमा जन्म लिन्छिन् । सन्तानको जन्म दिनुअघि उनी नारीको रूपमा हुन्छिन् भने जन्मपश्चात् मातृत्वको गुणले निपुण हुन्छिन् ।’ प्रश्रव पीडापछि सुख र खुसी स्वरूपको मातृत्व पाएसँगै उनमा विकसित हुने प्रेम ऊर्जा, वात्सल्य ऊर्जा, सहनशीलता, जागरुकता, करुणाले नै आफ्ना सन्तानलाई मात्र नभएर सृष्टिलाई नै थप सकारात्मक र प्रेमपूर्ण ऊर्जा प्रवाह भएको हुन्छ र छ ।
अस्तित्वले पृथ्वी, चराचर जगत् जति पनि सृष्टि गरे त्यसमा आमाको अभाव हुँदो हो त आज यो पृथ्वीको आकर्षण यति मिठो हुँदैनथ्योे । भगवान शिव, राम, ओशो, बुद्ध, नानक, कविर, कृष्ण सबै सन्तत्व सबैको जन्म आमाको कोखबाट भयो र यो सृष्टिको अस्तित्व सम्भव भयो । भगवान्लाई जन्म दिने पनि आमा नै हुन् । त्यसैले, आमाको स्थान सधैं सर्वोच्च छ । जन्म, प्रेम, भावनालाई विज्ञानले अनेक तरहले परिभाषा गर्ला, पुष्टि गर्न सक्ला तर आमाको मातृत्व, भावना, सहनशीलता र अकारण प्रेमको पुष्टि गर्न सक्दैन किनकि यो विज्ञानभन्दा माथि छ । प्रेम अर्थात्परम् (सर्वोच्चता), प्रेमको वास्तविक अर्थ आमाको मातृत्वबाट मिल्दछ । अकारण प्रेम, सर्वोच्च स्थानको प्रेम, सतत प्रेम, गहिराइको प्रेम, निःस्वार्थ प्रेम आमाबाट मात्र पाइन्छ ।
आमाको मातृत्व, भावना, सहनशीलता र अकारण प्रेमको पुष्टि गर्न कसैले सक्दैन किनकि यो विज्ञानभन्दा माथि छ
जुन देश र जुन भाषामा आमाको उच्चारण गरे पनि भावार्थ र आमाको मातृत्वले त्यही सर्वोच्च स्थान लिएको हुन्छ । नेपाली भाषाको मिठासपूर्ण आमा शब्द भारत, बंगलादेश अफ्रिका र धेरै देशमा अम्मा, अमा, माँ नै भनेको पाइन्छ । थोरै चोट लाग्यो, ठेस लाग्यो मुखबाट शब्द निस्कन्छ ऐया आमा !, अकस्मात कुनै घटना र दुर्घटना आइलाग्यो याद आउँछ आमाको, मुखबाट त्यही शब्द निस्कन्छ आमा ! जब पनि असहज अवस्था आइलाग्छ याद आउँछ आमाको । किनकि सन्तान आमाबाट जति टाढा भए पनि हृदयको तलबाट आमासँगै जोडिएका हुन्छन् । भावनाको तलबाट सधैं आफ्नै साथ देख्छिन् आमाले । जस्तासुकै अप्ठ्यारा परिस्थितिमा होस् या सुखको क्षणमा भन्न, प्रार्थना गर्न, अनुरोध गर्न इच्छा जागेर आउँछ । त्यतिबेला आमाकै स्मरण आउँछ । त्यसैले त आमा सर्वज्ञानी, सर्वोपरी, सर्वरक्षक छिन् । भगवान् जहाँ पनि पुग्छन्, जहाँ पनि देख्छन्, सबैको कल्याण गर्छन् भनिन्छ, आमा जिउँदो भगवान् हुन् आफ्ना सन्तानका लागि । जसको आमा साथमा छ तिनलाई यति धेरै महत्व थाहा नलाग्न सक्छ तर जसले शारीरिक रूपमा आमालाई गुमाइसकेका छन्, तिनीहरूलाई यो भावनाले एकपटक स्तब्ध बनाउँछ ।
आमा छैनन् त केही पनि छैन जस्तो लाग्छ । भौतिक वस्तुले जति भरिपूर्ण भए पनि आमा नभएको सन्तानको जीवन अधुरो, अपुरो लाग्छ किनकि जीवन्तता महसुस गराउने खुबी छ आमामा । जति नै हुर्केका, उमेर पुगेका, आफ्नो नोकरी, घरव्यवहार कुशलतापूर्वक स्याहार्न सक्ने, राष्ट्र चलाउन सक्ने सन्तान किन नहोऊन् आमाका लागि बालक नै ठहरिन्छन् । बाबु वा नानु तिम्रो व्यवसाय कसरी चलेको छ, देश कसरी चलेको छ सोध्दिनन् आमा ! बाबु वा नानु तिमीले राम्ररी खायौ ? स्वास्थ्यको ख्याल गर ! तिमी खुसी रहू ! आमाको चाहना र आशीर्वाद यही हुन्छ । सन्तान ठूलाठूला पदमा पुगेर, प्रशस्त धन आर्जन गरेर प्रतिष्ठित बनून् भन्दा पनि असल बनून्, अरूका लागि असल आचरणको इमानदार व्यक्ति बनेर चिनिऊन् भन्ने इच्छा हुन्छ आमाको । भ्रष्ट आचरण भएको, अराजक आनीबानी भएको, अरूलाई दुःख, कष्ट दिने सन्तान देख्न चाहन्नन् आमा । आमाको महत्व र ममता बुझेर आचरण सुधार्न सके मात्र पनि आफू मात्र शान्त र आनन्दित नभई देशलाई नै भ्रष्टाचार मुक्त बनाउन सकिन्थ्यो । सरल, सहज, प्रेमिल, करुणादायी, आत्मसम्मानमा बाँच्न सक्ने सन्तान देख्न पाए आमा आफ्नो कोख धन्य भएको ठान्दछिन् ।
जीवनभर आमालाई दिने समय र विवेक नहुने अनि मृत्युपछि पश्चाताप गरेर हुनेवाला केही छैन
जेठो छोराले कान्छो छोरालाई फोन गरे, केही योजना बनाएर एउटा चिठी आमाको हातमा थमाएर भोलिपल्ट बिहानै बसपार्कमा आमालाई छोड्न अह्राए । कान्छा छोराले आमाले आफ्ना भएका लुगाकपडा पोको पारी ठूलो दाइकहाँ जाने, उनले लगेर बसपार्क छोडिदिने र दाइ त्यहाँ लिन आउने कुरा बताए । जेठो छोरा कहाँ जाने, नातिनातिना भेट्ने एउटा रमाइलो कल्पना आमाको मानसपटलमा खेल्न थाल्यो । भोलिपल्ट छोराहरूको योजनाअनुसार आमालाई बसपार्क छोडियो । आमा कोही मान्छे भेटिएमा यो चिठी देखाउनुहोला, यसमा दाइको ठेगाना लेखेको छ तर त्यतिन्जेलमा दाइ पनि लिन आइपुग्नुहुन्छ भनेर कान्छा छोरा बाटो लागे ।
एक घण्टा बित्यो, दुईघण्टा बित्यो छोरा आएनन्, छोरालाई केही भयो कि भन्ने चिन्ताले सताउन थाल्यो आमालाई । बाटोमा हिँडिरहेका एक युवालाई आमाले चिठी देखाउनुभयो । बाबु यो मेरो जेठो छोराको ठेगाना हो, छोरा आइपुगेनन् । केही काम आइलाग्यो होला । मलाई मेरो छोराकहाँ पु¥याइदिनुप¥यो । ती युवकले आमाको हातबाट चिठी लिएर पढे । उनको आँखा रसाए । उनले आमाको हात समाएर भने आमा जाऊँ मेरो घर लैजान्छु म तपाईंलाई । आमा आत्तिनुभयो र सोध्नुभयो, ‘बाबु मेरो छोरालाई त सन्चै छ नि ! उसलाई केही भएको त छैन नि !’ चिठीमा लेखिएको थियो, ‘जसले यो चिठीसहित आमालाई भेट्नुहुन्छ, वृद्धाश्रम लगेर छोडिदिनुहोला । मानवीयता मरेको यो कहानीले आजका धेरै मानिसलाई प्रतिनिधित्व गर्न सक्दछ । तर, यही कहानीले थोरै मात्र पनि मातृत्वको प्रेम जाग्न सक्यो भने धेरै आमाहरू वृद्धाश्रम जानबाट मुक्ति पाउनुहुनेछ ।
आफ्ना सन्तानको खुसी र सुन्दर जीवनका लागि जस्तो सुकै दुःखकष्ट झेल्न तयार हुने र त्यो दुःखकष्टमा पनि कर्ताभाव नदेखाउने, जीवनभर सन्तानका लागि आफ्नो समय र भावना समर्पित गरेकी आमाप्रति अहोभाव र कृतज्ञता व्यक्त गर्नुबाहेक अरू उपाय छैन, आमाको ऋण चुकाउनका लागि । असल नागरिक बनेर, असल राष्ट्रसेवक बनेर, परोपकारी र कल्याणकारी कर्म गरेर अरूलाई समेत सहयोग गर्ने बानी बसाल्नु नै आमालाई प्रसन्न राख्ने सही तरिका हो । तर, विडम्बना, आमालाई समेत थाहा नदिई सम्यक आचरणमा नरही कुलत, भ्रष्टाचार र अराजकतामा लाग्ने सन्तान पनि देख्न पाइन्छ यही समाजमा । जन्माएर, हुर्काएर, खान, बोल्न, ताते गर्न सिकाएकी, पहिलो शिक्षक हाम्री आमालाई आज तपाईं बोल्न जान्नुहुन्न, हिँड्न जान्नुहुन्न, खान जानुहुन्न, लगाउन जान्नुहुन्नजस्ता अमानवीय शब्द प्रयोग गरेर आमाको चित्त दुखाउन पछि परेका हुँदैनौं ।
शब्दपिच्छे, ठाउँपिच्छे, व्यवहारपिच्छे आमा नजान्ने बनाउन हामीलाई उत्सुकता जाग्नु भनेको त्योभन्दा दुर्भाग्य र मूर्खता अरू के होला ? मन्दिर गएर ढुंगाको भगवान्लाई ढोग्नु र प्रार्थना गर्नुभन्दा आफ्नी आमालाई प्रेम, भक्ति र श्रद्धाका साथ सेवा गर्ने सन्तान जीवनमा सधैं सफल र असल बनेर परिचित हुन्छन् । मातृत्वको सेवामा कुनै अंक गणित प्रयोग गर्नुपर्ने आवश्यकता छैन । जीवनभर आमालाई दिने समय र विवेक नहुने अनि मृत्युपछि पश्चाताप गरेर हुनेवाला केही छैन । मृत्युपछि जति नै दानदक्षिणा गरे पनि आमाले पाउने होइनन् ।
अहिले नै आमाको सेवा गरौं, आमाको छेउमा गएर बसौं, आमालाई पनि समय दिऊँ, समयमा औषधि खुवाऔं, के इच्छा छ सोधौं र सक्दो इच्छा पूरा गर्ने प्रण गरौं । जसकी आमा छिन्, ऊ कहिल्यै गरिब हुँदैन किनकि अन्तरात्मादेखि सन्तानका भावना बुझ्ने साक्षात् भगवान् आमा मात्रै हुन् ।