अर्जेन्टिनी फुटबल स्टार मेस्सीले बार्सिलोना नछाड्ने

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना नछाड्ने भएका छन्। बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले आफू अहिले बार्सिलोनामै रहने बताएका हुन्।

फुटबलको चर्चित पोर्टल गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, “म अब बार्सिलोनामै आफ्नो करिअरलाई निरन्तरता दिनेछु। म यो क्लब छाडेर जान कति चाहन्थें भन्ने कुराको अब अर्थ छैन, मेरो स्वभाव पनि फेरिनेछैन।”

केही दिनअघि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गर्दै त्यसका लागि सहज वातावरण मिलाइदिन क्लब व्यवस्थापनलाई आग्रह गरेपछि फुटबल दुनियाँमै हलचल आएको थियो। समकालीन फुटबल दुनियाँमा सर्वाधिक क्षमतावान फुटबलर मानिने मेस्सीको त्यो निर्णयपछि विश्वका चर्चित क्लबहरूलाई मेस्सीको सम्भावित गन्तव्यका रुपमा हेर्न थालिएको थियो।

यूरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीको यस्तो निर्णय आएको थियो। त्यसपछि क्लबसँग भएका अनेक चरणका वार्तापछि मेस्सी निर्णय पुनर्विचार गर्न तयार भएका हुन्।

“मैले क्लब, क्लबका अध्यक्ष लगायतलाई धेरै वर्ष, धेरै पटक म बार्सिलोना छाड्न चाहन्छु भनेर भनें। मैले आफ्नो करिअर यही क्लबमै अन्त्य गर्न चाहेको भए पनि मलाई लाग्यो, यहाँ मेरो समय सकियो। यो दुःखको कुरा हो”, मेस्सीले गोल डटकमसँग भने। मेस्सीले पछिल्लो वर्ष आफ्ना लागि निकै कठिन भएको समेत उल्लेख गरेका छन्।

“मैले क्लबका अध्यक्षसँग यो कुरा पटकपटक राखें, उनले हरेक पल्ट सिजनको अन्त्यमा मैले क्लब छाड्ने वा क्लबमा बस्ने निर्णय गर्न सक्ने बताए”, मेस्सीले भने, “तर उनले आफ्नो बचन कहिले पूरा गरेनन्।”

मेस्सीले आफूले क्लब छाड्न खोज्नुको कारण पनि उल्लेख गरेका छन्। “म बार्सिलोनाको लिजेन्ड हुनका लागि यो क्लबबाट थुप्रै उपाधि जित्न चाहन्थें, थुप्रै प्रोजेक्ट जित्न चाहन्थें”, उनले भने, “तर यहाँ लामो समयसम्म कुनै परियोजना हुन छाडे, बरु भ्वांग पर्न थाल्यो र त्यसको ढाकछोप हुन थाल्यो।”

थुप्रै असन्तुष्टि पोख्दापोख्दै पनि मेस्सीले भनेका छन्, “बार्साप्रतिको मेरो माया कहिले पनि फेरिने छैन।”


ताजा खबर