सेना प्रयोग गरी उपत्यका भित्रने नाका ठप्प पार्न उपत्यकाका मेयरहरुको आग्रह

कोरोना संक्रमण अन्त्यका लागि काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यका भित्रिने नाका ठप्प पार्न आग्रह गरेका छन् । मंगलबार  बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यका  प्रवेश गर्ने नाकामा थप कडाइ गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।  फोरमको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने  निश्कर्ष समेत निकालेको छ । यसका  लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले दिएका छन् ।

बैठकले कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाभित्र क्रमशः खुकुलो बनाउँदै लाने निर्णय गर्दै  उपत्यका भित्रिने नाकामा थप कडाई गर्ने निणर्य  गरेको  हो  । साथै बैठकले  २५ गतेदेखि नगरपालिका र वडाबाट प्रदान गरिने  सेवालाई नियमित गर्ने निर्णय गरेको छ ।

‘उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएका कारण  उपत्यका भित्रिने नाकामा कडाई गर्नुपर्ने निर्णय भएको’,  सचिव   श्रेष्ठले बताएका छन् ।

बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर प्रणालीमा चलाउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने पनि मेयरहरुको सुझाव छ ।


ताजा खबर