‘प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन ६८ प्रतिशत पूरा’

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै गरेका बाचामध्ये ६८ प्रतिशत पूरा गरेको दाबी गर्नुभएको छ। बाँकी ३२ प्रतिशत काम पनि सम्पन्न हुने अवस्थामा रहेको उहाँले बताउनुभयो । 
 

सेनाको नेतृत्व सम्हालेको ३ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रधान सम्पादक, सम्पादक र  समाचार प्रमुखहरूसँगकाे अन्तरक्रियामा प्रधानसेनापति थापाले यस्तो दाबी गर्नुभएको हो। 

थापाले ०७५ भदौ २४ गतेबाट नेतृत्व सम्हालेपछि सेनालाई थप सुदृढ र सक्षम पार्न ‘प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन, २०७५’ जारी गर्नुभएको थियो । जसमा ७ वटा लक्ष्य र १६६ वटा कार्यक्रम थिए ।

सेनापतिद्वारा प्रतिबद्धता जनाइएका कार्यक्रमहरूमा राष्ट्रिय सुरक्षालाई सुदृढीकरण गर्न योगदान दिने, सेनाको लडाइँ लड्ने क्षमता वृद्धि गर्ने, बन्दोबस्ती क्षमता अभिवृद्धि गर्ने, पेसागत सैनिक तालिम तथा शिक्षालाई थप व्यवस्थित गुणस्तरीय बनाउने र नेपाली सेनाको सांगठनिक संरचना र व्यवस्थापनलाई सन्तुलित र प्रभावकारी बनाउने उल्लेख थियो ।

त्यस्तै, नेपाली सेनाको युद्धबाहेकका सैनिक अपरेसनहरूलाई थप प्रभावकारी बनाउने र सैनिक कल्याणकारी कार्यक्रमको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्ने योजना पनि प्रधानसेनापतिले २ वर्ष पहिले अघि सार्नुभएको थियो ।

यीमध्ये ६८ प्रतिशत काम पूरा भएको र ३२ प्रतिशत काम सम्पन्न हुने क्रममा रहेको प्रधानसेनापति थापाले दाबी गर्नुभएको छ। 

‘प्रधानसेनापति कमाण्ड निर्देशन, २०७५ मा उल्लेखित ७ लक्ष्यहरू र सो प्राप्तिका लागि निर्दिष्ट गरिएका १६६ वटा कार्यक्रमहरूमध्ये हालसम्म ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी ३२ प्रतिशत काम पनि सम्पन्न हुने क्रममा छ,’ प्रधानसेनापतिद्वारा प्रस्तुत प्रगति विवरणमा भनिएको छ । 


ताजा खबर