तेजाब प्रहार कसूरसम्बन्धी ऐन ल्याउने र पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उहाँले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिनुभयो ।

देशभरि तेजाब आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गर्नुभयो ।

पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उहाँले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गर्नुभयो ।

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, उहाँले भन्नुभयो । -रासस


ताजा खबर