आज १२४६ संक्रमित थपिए : १२४३ जना संक्रमण मुक्त

आज विभिन्न ५० जिल्लामा गरी एक हजार दुई सय ४६ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन्  । 

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १० हजार छ सय ४१ वटा नमुना परीक्षण गर्दा चार सय २८ महिला र आठ सय १८ जना पुरुष गरी जम्मा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै कोरोना सङ्क्रमितको कूल सख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । 

कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै गएको काठमाडौँ उपत्यकामा आज छ सय १८ जना संक्रमित थपिएका छन् । आज काठमाडौँका पाँच सय सात जना, भक्तपुरका ५० जना र ललितपुरका ६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज थप एक हजार दुई सय ४३ जना संक्रमण मुक्त भएका छन् । 

हालसम्म ४२ हजार नौ सय ४९ जना संक्रमण मुक्त भएको र निको हुने दर ७२ दशमलव ०९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । यसै गरी आज विभिन्न ७२ जिल्लामा गरी १६ हजार दुई सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । 

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी पाँच जिल्लामा भने सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये  सात हजार नौ सय तीन जना संस्थागत आइसोलेसन तथा आठ हजार तीन सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । 

यसै गरी गम्भीर लक्षण भएका एक सय ८२ जना सङ्क्रमितको आइसियुमा र ३९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो । यस्तै आज थप चार जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भएको छ । 

मन्त्रालयले दिएको जानकारी अनुसार आज मोरङ, चितवन, र कैलालीका एक÷एक जना महिला तथा काठमाडौँका एक पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या तीन सय ८३ पुगेको छ । 


ताजा खबर