‘उसका लागि मर्ने जनता छैन’

सरोज पन्थी

ऊ पागल हो
उसको कुनै गाउँ छैन
उसको नाउँ डाक्टर हो
तर उसको आकार छैन
न उसको ठेगाना छ
न उसको आफ्नो ठेगान छ
ठेगान नहुनेहरूलाई यो शहरले पनि त ठेस लगाउँदो रैछ..!!

ऊ कहिले पुग्छ पूर्व त कहिले पश्चिम
कहिले मेची त कहिले महाकाली
कहिले सुदुर त कहिले सदर्मुकाम
कहिले हुम्ला त कहिले जुम्ला
कहिले बाँझकोट त कहिले जाजरकोट
उसको कुनै पहिचान छैन
पहिचान नहुनेहरूलाई यो शहरले पर धकेल्दो रैछ.!!

ऊ भन्छ म मर्छु जनताकै लागि मर्छु
उसका लागि मर्ने जनता छैन
ऊ भन्छ म टाल्छु मुटुकै प्वाल
तर उसको सर्टको प्वाल टाल्ने सूचिकार छैन
ऊ एक्लो भुनभुनाउँदै हिँडिराखेको मौरी हो
ऊ एक्लो सुम्सुमाउँदै बहिरहेको बतास हो
कसैले बैचनीको सास फेर्दा
उसले हावाको एक झोक्काले फोक्सोमै हान्छ
कसैले जीवनको अन्तिम सास फेर्दा
उसले हावाको मधुरताले जीवनको जीउँमा हान्छ
भिखारीको भित्तोमा भाँसिएका जीवनका रड़ंगहरू
उसले, इन्द्रेणीको आकारमा भेट्छ

डा.गोबिन्द के.सी प्रति नमन.!!!!


ताजा खबर