नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकोले उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले जारी एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँगको अन्तरक्रियामा गर्भनर अधिकारीले कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्ने गरी वित्तीय सेवा प्रदान गर्न समेत आग्रह गर्नुभयो ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गर्नुभयो ।
राष्ट्र बैंकले मर्जर–प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर–प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गर्नुभयो ।
सो छलफलमा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंक लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल लगायतले समसामयिक बैंकिङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ–आफ्नो धारणा राख्नुभएको थियो । –रासस