आज काठमाडौ उपत्यकामा एक हजार ५ सय ९९ सहित देशभर दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज देशभर १२ हजार ७ सय ८४ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ८ सय ३० जना महिला र एक हजार ४ सय २३ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रा.डा गौतमले आज काठमाडौँमा एक हजार ३ सय ७३, ललितपुरमा एक सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
काठमाडौमा आज २४ घण्टाको अवधिमा हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएका हुन् ।
आज देशभर नयाँ संक्रमित थपिएका ५२ जिल्ला मध्ये मोरङमा ८१, कैलालीमा ५५, सुर्खेतमा ५४, चितवन र रुपन्देहीमा ५२, बाँकेमा ५० जना छन् भने बाँकी अन्य जिल्लामा ५० भन्दा कम संख्यामा संक्रमित भेटिएका छन् ।
यो सँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप एक हजार ३ सय २९ जना कोरोना संक्रमण मुक्त भएसँगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर ७४ जिल्लामा २२ हजार दुई सय १९ जना संक्रिय संक्रमित रहेका छन् ।
संक्रिय संक्रमितहरु मध्ये ११ हजार ८ सय ९३ जना होम आईसोलेसन र १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गम्भिर लक्षणका २ सय २६ जनाको आइसीयु र ३४ जनाको भेण्टीलेटरमा उपचार भईरहेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यृ भएँसगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमणबाट बाँकेमा २ जना, काठमाडौ, ललितपुर, चिवतन, मकवानपुर र कञ्चनपुर जिल्लामा १÷१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता पं्रा.डा गौतमले जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पतालमा रहेका लक्षण नभएका कोरोना संक्रमितहरुलाई १० दिनमा डिस्चार्ज दिने निर्णय गरेकोे छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यका भित्रका अस्पतालहरुमा राखिएका लक्षण नभएका संक्रमितहरुको १० दिनमा पीसीआर परीक्षण गरि डिस्चार्ज दिन र लक्षण भएका संक्रमितहरुलाई थप ४ दिन राखि डिस्चार्ज दिन सवै अस्पतालहरुलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा तथा शुल्क सन्दर्भमा गुणस्तर अनुगमन तथा नियमन महाशाखाले अनुगमन गर्ने जानकारी दिएको छ ।
यस्तै सवै किसिमका गोष्ठी, सेमिनार, बैठक नर्गन भन्दै मन्त्रालयले नजिकिदै गरेको चाड दशै तिहारमा आवजावत नगरी सोही स्थानमै रहेर मनाउन समेत आग्रह गरेको छ ।