आइपिएल : दिल्ली क्यापिटल्सको पाँचौं जित

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पाँचौं जित निकालेको छ। यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले आफ्नो पाँचौं जित निकाल्ने क्रममा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको हो। १८५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन दुई बल बाँकी छदा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो।

राजस्थानका लागि राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४ र कप्तान स्टेभ स्मिथले २४ रन बनाए। राजस्थानका कुनै पनि ब्याट्सम्यान चल्न नसक्दा फराकिलो रनको हार ब्यहोरेको हो। दिल्लीका लागि बलिङतर्फ कागिसो रबडाले तीन, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए।

यसअघि शारजाह रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।

दिल्लीका सिमरन हिटम्यरले २४ बलमा ४५, मार्कस स्टोइनिसले ३९, कप्तान श्रेयस ऐयरले २२, पृथ्वी शोले १९, अक्षर पटेलले १७ र हर्षल पटेलले १६ रनको योगदान दिए। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए।


ताजा खबर