राष्ट्रपति विद्यादेवी भण्डारीले आज ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको हो ।
रानीपोखरीमा रहेको ताम्रपत्र अनावरण गरेर राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
यसअघि नेपाल र भारतमा रहेका विभिन्न तिर्थस्थल, कुण्ड र नदीहरुबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो ।
रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पनि पुन:निर्माणको काम पनि सकिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपति र प्रधानमन्त्री दुबैले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा प्रतिस्थापन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरुको बलियो र राम्रोसँग पुननिर्माण गर्ने अठोट गरेको र यो पुरा भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले पुननिर्माणको बाँकी काम पनि छिट्टै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिरको संरक्षणले हाम्रा साँस्कृतिक र ऐतिहासिक धरोहरको महत्व थप उजागर भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
पुननिर्माण हुँदै गरेको धरहरा र रानीपोखरीको वृहत गुरुयोजनाले पर्यटकहरुको आकर्षण बढाउने उहाँको विश्वास थियो ।
यसैगरी, राष्ट्रपति भण्डारीले दरबार हाई स्कुलले पुर्याएको योगदानको चर्चा पनि गर्नुभयो ।
मौलिक मल्लकालिन शैलीमा नै यो मन्दिरको पुन: निर्माण गरिएको छ । २०७२ सालको भूकम्पपछि यो मन्दिर सर्वसाधरणका लागि बन्द गरिएको थियो। यसपालिबाट भने यो मन्दिरमा दशैँको टीकामा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुन: निर्माण गर्न २८ करोड रुपयाँ लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।
राष्ट्रपति भण्डारीको संवोधनको पूर्णपाठ
सम्माननीय प्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
दाजुभाइ तथा दिदी बहिनीहरू,
विक्रम सम्बत् २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूका कारण व्यहोर्नुपरेको ठूलो मानवीय, आर्थिक एवं भौतिक क्षति र पीडा हाम्रो मानसपटलमा अझसम्म ताजै छ । उक्त भूकम्पमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
आजको यस क्षणमा २०७२ साल माघ २ गतेको दिन स्मरण गर्न चाहन्छु, जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । त्यसबेला हाम्रो अठोट थियो– हाम्रा प्रिय दिवंगत दाजुभाइ तथा दिदी बहिनीहरूलाई फिर्ता ल्याउन नसक्ने भएपनि भूकम्पबाट क्षति पुगेका हाम्रा सबै प्रकारका संरचनाहरूको हिजोभन्दा बलियो र राम्रो गरी पुनर्निर्माण गर्न सक्छौँ र गर्नेछौँ । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ । आज यही रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुनेछ।
आजभन्दा करीब तीनसय बर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको यस रानीपोखरीको आफ्नै ऐतिहासिक, साँस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदी बहिनी नहुने दाजुभाइहरूले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रतापमल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ । प्राकृतिक एवं साँस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाण्डौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ । सम्बद्ध सबै सरोकारवाला पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति म शुभकामना दिन चाहन्छु । पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।
आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको छ । विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु¥याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु । मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ । यसका लागि म काठमाडौँ महानगरपालिका, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा विद्यार्थी भाइ बहिनीमा शुभकामना व्यक्त गर्दछु ।
पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु । भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास लिएको छु । यी ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिनु भएका र सहयोग पु¥याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
अन्तमा, वडा दशैँ, तिहार र छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सबैमा उत्तरोत्तर प्रगतिका कामना गर्दछु ।
२०७७ साल कार्तिक ५ गते बुधबार ।
धन्यवाद !