प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक र उपप्रधानमन्त्री तथा मन्त्री, राज्यमन्त्रीहरूको कार्तिक देखि २०७७ चैत्र सम्मको ५० प्रतिशत पारिश्रमिक कोभिड कोषमा जम्मा गरिने भएको छ ।
कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीको सम्पूर्ण पारिश्रमिक जम्मा भइसकेको र उपप्रधानमन्त्री तथा मन्त्री राज्यमन्त्रीहरुकोे ५० प्रतिशत पारिश्रमिक कोभिड कोषमा जम्मा गरिने बताउनुभयो ।
यसै गरी सरकारले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाउने भएको छ ।
सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले एक समिति गठन गरेको बताउनुभयो ।
मन्त्री गुरुङले समितिले दिने प्रतिवेदनका आधारमा मुलुकमा रासायनिक मल उद्योग स्थापना गर्ने काम अगाडी बढाइने बताउनुभयो ।
अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा कृषि मन्त्री र उद्योग मन्त्री सदस्य रहनुभएको छ ।
यसै गरी सरकारले सरकारी अस्पतालहरूमा कोभिडको जाँच तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताउनुभयो ।
सरकारले कोभिड १९ सङ्क्रमणलाई नियन्त्रण गर्न यस अघि आवश्यक आवागमनमा लागि खुला गरिएका १३ वटा सीमा नाका बाहेक बाँकी सबै सीमा नाकामा लगाएको प्रवेश निषेधाज्ञालाई जारी राख्दै मङ्सिर ३० गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।
यसअघि कार्तिक ३० गतेसम्म सीमा नाकाबाट आगमनमा रोक लगाइएको थियो ।
सरकारले पुस्तक आयातमा लगाइएको कर खारेज गर्ने निर्णय गर्नुसँगै विभिन्न करका दरहरू पनि घटाउने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
तिहारको शुभकामना दिँदै पत्रकार सम्मेलनमा मन्त्री गुरुङले कोरोना सङ्क्रमणको जोखिम रहिरहेकाले भौतिक दूरी र स्वास्थ्य सतर्कताका साथ चाडबाड मनाउन सबैमा आग्रह पनि गर्नुभयो ।
मन्त्री गुरुङले महामारीको नियन्त्रणका लागि सरकार साथमा रहेको भन्दै जनस्तरबाट भइरहेको सहयोगका लागि सबैमा सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
सौजन्यः नेपाल टेलिभिजन