बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल दुई शुन्य गोलले पराजित भएको छ । कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपालले निकै फितलो खेल खेल्यो । नेपालले बंगलादेशसँग पाँच बर्षपछि पहिलो हार ब्यहोरेको हो । सन् २०१५ मा भएको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालले बंगलादेशसँग हारेको थिएन ।
ढाका स्थित बंगबन्धु रंशगालामा भएको खेलको सुरुवातमा नै नेपालले गोल खान पुग्यो । १० औं मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनायो । उसका लागि सामुद्दिनले गोल गर्न सफल भए । डिबक्समा आएको बललाई उनले गोसल गर्दा नेपाली डिफेन्डरले केहि गर्न सकेनन् ।
सुरुवातमा नै एक गोलले पछि परेको नेपालले १७ औं मिनेटमा मौका पाएको थियो । तर नवयुग श्रेष्ठको प्रहार फ्रेममा रहन सकेन । २१ औं मिनेटमा बंगलादेशले अर्को राम्रो मौका खेर फाल्यो । डिबक्समा मोहम्मद इब्राहिमले गरेको हेडको प्रयार पोष्टको नजिकैबाट बाहिरीयो ।
मोहम्मद नविबको क्रसमा आएको बललाई उनले फिनिस गर्न सकेनन् । त्यसको दुई मिनेटमा फेरी बंगलादेशले अर्को अवसर खेर फाल्यो ।
२५ औं मिनेटमा नेपालका रवी पासवानको प्रहार पनि फ्रेममा रहन सकेन । उनले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टमाथिबाट बाहिरीयो । २६ औं मिनेटमा अञ्जन विष्टको प्रहारपनि फ्रेममा रहेन ।
२७ औं मिनेटमा बंगलादेशका मानिक मुल्लाले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई किरण चेम्जोङले बचाए । ३१ औं मिनेटमा बंगलादेशले अर्को मौकाको सिर्जना गरेको थियो । उसका साजन सडिनको क्रसमा डिबक्स भित्रबाट जिबानको प्रहार पोष्टका नजिकैबाट बाहिरीयो ।
३९ औं मिनेटमा अञ्जन विष्टले डिबक्समा पाएको मौकालाई आत्मसाथ गर्न सकेनन् । उनको फितलो प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए ।
५६ औं मिनेटमा नेपालका रवी पासपानले डिबक्समा पाएको राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । जसका कारण नेपालले राम्रो अवसरलाई खेर फाल्यो ।
७२ औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका भरत खवासले डिबक्समा गरेको हेडको प्रयासपनि फ्रेम बाहिर रह्यो । खेलमा फर्कनका लागि नेपालले बारम्बार प्रयास गर्दापनि पाएका मौकाको सदुपयोग गर्न सकेन ।
७७ औं मिनेटमा बंगलादेशका कप्तान टोबुको उत्कृष्ट फ्रिकिकलाई नेपाली गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए । डिबक्स नजिकैबाट गरेका प्रहारलाई किरणले उत्कृष्ट तरिकाले बचाए ।
७८ औं मिनेटमा विकाश खवासको थ्रो बलमा अनन्त तामाङको हेडरलाई बंगलादेशी गोलकिपरले बचाए । तर खेलको ८० औं मिनेटमा नेपालको डिफेन्सको कमजोरीका कारण दोस्रो गोल खायो । काउन्टर अट्याकमा बंगलादेशका महाबुबुर रहमानले उत्कृष्ट गोल गर्न सफल भए ।
त्यसपछि नेपाल खेलमा फर्कन सकेन र दुई शुन्यले पराजित भयो । बंगलादेशविरुद्ध नेपालले पछिल्ला तीन खेलमा पहिलो हार ब्यहोरेको हो । आजको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखियो । मिडफिल्डर विक्रम लामा चोटका कारण बाहिरीएपछि नेपाललाई दबाव बढेको थियो ।