नेपाल सम्वत् ११४१ सुरु

नेपाल सम्वत ११४१ आजदेखि सुरु भएको छ। दिनका हिसावले नेपाल सम्वत् आज परेपनि आज विहानसम्ममा नै औँशी सकिने भएकाले तिथिका हिसावले सम्वत भोली मनाइने संस्कृतिविद कीर्तिकिरण जोशीले जानकारी दिनुभयो ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा  मनाइँदै आएको छ। यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।

नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो । सन्देशमा उहाँले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गर्नुभयो । नेपाल सम्वतको यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्नु भएको छ । –रासस


ताजा खबर