नेपाल क्रिकेट संघले यहि १० गतेबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने बताएको छ । त्यसको दुई दिन अगाडी अर्थात ८ गते खेलाडीको कोरोना परिक्षण गर्ने र त्यसमा नेगेटिभ आएका खेलाडीलाई मात्र प्रशिक्षणमा समावेश गर्ने भनेर २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
तर दुई दिन अगाडी पीसीआर परिक्षण गरेर नेगेटिभ आएमा र प्रशिक्षण सुरु भएपछि फेरी लक्षण देखिएमा के गर्ने भन्ने विषयमा क्यानले केहि बताएको छैन । प्रशिक्षणका बेला विचमा कति दिनमा पिसीआर परिक्षण गर्ने भन्ने पनि क्यानले जारी गरेको विज्ञेप्तीमा भनिएको छैन । तर याे बिषयमा क्यानले याेजना बनाएकाे एक पदाधिकारीले बताए ।
स्मरण होस अखिल नेपाल फुटबल संघले बंगलादेशसँगको मैत्रीपुर्ण खेलका बेला खेलाडीलाई अन्तिम समयमा प्रशिक्षणमा बोलाएर पीसीआर गर्दा एकपछि अर्को गरेर सात जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमा कतिपय खेलाडी त, प्रशिक्षणमा समावेस समेत थिए । अब नेपाल क्रिकेट संघले दुई दिन अगाडी पीसीआर गरेर दुई दिनपछि प्रशिक्षण गराउँदा यस्तै अवस्था नआउँदा भन्न सकिन्न ।
त्यसैले खेलाडीको पीसीआर परिक्षण गर्नुभन्दा कम्तिमा पनि पाँच दिन सबैलाई क्वारेन्टिनमा राखेर त्यसपछि पीसीआर गर्दा उचित हुने थिएन र । करिव नौ महिनापछि खेलाडीले आधिकारीक रुपमा प्रशिक्षण गर्न पाउनु पक्कैपनि खेलाडीका लागि निकै खुसीको कुरा हो, त्यसमा खेलाडीपनि उत्साहित छन, तर खेलाडीलाई प्रशिक्षणमा राखेपछि उनीहरुसँग सम्पर्कमा आउने अरु स्टाफको पनि परिक्षण गर्न निकै आवश्यक छ ।
यो विषयमा बुझ्दा खेलाडीको परिक्षण गर्दा कीर्तिपुर मैदानका ग्राउण्ड स्टाफसहित आवश्यक पदाधिकारी जो खेलाडीको सम्पर्कमा आउछन, उनीहरुको पनि परिक्षण गरिनेछ । जसमा करिव ५० जनासम्म हुनसक्ने आंकलन छ ।
यसका साथै खेलाडीलाई पीसीआर परिक्षणकै दिनबाट पिंगलास्थानको एक होटेलमा राखिने भएको छ । खेलाडीको प्रशिक्षण सुरु भइसकेपछि पनि एक हप्ता देखि १० दिनको बिचमा परिक्षण गर्ने योजना क्यानको रहेको छ । सुरुवातमा रिपोर्ट नेगेटिभ आएपनि विचमा केहि कारणबस खेलाडीलाई लक्षण देखिन सक्छ, जसका कारण उनीहरुलाई विच विचमा पनि परिक्षण गरिने भएको छ ।
नेपालले अहिलेबाट नै प्रशिक्षण सुरु गरेपनि सुरुवाती केहि साता फिटनेसमा बढि जोड हुनेछ । किनकी करिव नौ महिना देखि नियमित प्रशिक्षणमा नभएका खेलाडीको फिटनेसलाई सुरुवातमा केन्द्रिकृत गरिने भएको छ ।
क्यानले अहिले प्रशिक्षणमा बोलाएका खेलाडी यसप्रकार छन ।
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की ।