- डा. हेम राज पनेरू
तिमी बिरामी
म फगत एक डाक्टर।
दुःख तिम्रा आफ्ना
दुःख मेरा पनि आफ्नै।
तिमी रुन्छौ दुई पल
आँसु झारी
म पनि त रुन्छु तिम्रो दुःखमा
आँसु नझारी !
(पहिलो बिरामिः इमर्जेन्सीमा)
आएँ ठुलो आशा बोकी
तर
पाइन अस्पतालमा बेड कसै गरी।
भन्छन् डाक्टरले इमर्जेन्सीमा
जाऊ छिटो आइसियु खोजी।
भौँतारिए सहर भरी
भौँतारिए सहर भरी पागल झैँ
खोज्दै बेड पाइएला कि कहीँ।
जाऊँ म कहाँ अब ?
जाऊँ म कता आज
हुन्थ्यो कि रोग निको
आइसियुमा भर्ना पाएदेखि।
देऊ न मलाइ एक रात बस्न यहीँ
भोलि त बेड पाइएला कि कहीँ
भन्दै यसो,
तिमी रोयौ दुई पल
आँसु झारी
सँगै म पनि रोएँ
आँसु नझारी।
(दोस्रो बिरामीः आइसियु बेड नम्बर १)
आइसियुको उपचार
महँगो ओखती, चर्को बेड चार्ज।
आएको थिएँ ऋण लिई
होलाकी स्वास्थ्यमा सुधार
रित्तियो खल्ती दुई दिन मैँ
किनूँ म कसरीओखति यति धेरै !
गरिबको कर्म
अभिसाप हुनु नै बिरामी !
भन्दै यसो,
तिमी रोयौ दुई पल
आँसु झारी
सँगै म पनि त रोएँ
आँसु नझारी।
(तेस्रो बिरामीः आइसियुको बिरामीका पिता)
मेरो छोरा
मेरो एक्लो सहारा।
गर्नुस् न केही
केही त उपाय होला
नलिनुस् पैसाको चिन्ता
लिनुस् अहिले नै चाहिए जति।
बोलाउँछु डाक्टर विदेश बाट
या फेरी लैजाऊँ कि अमेरिका नै आज ?
तर किन भन्नुहुन्छ निको हुन्न।
किन भन्नुहुन्छ निको हुन्न
केही त होला उपाय !
भन्दै यसो,
तिमी रोयौ दुई पल
आँसु झारी
म फेरी रोएँ तिमीसँगै
आँसु नझारी।
तिमी बिरामी
म फगत एक डाक्टर।
तिमी रुन्छौ दुई पल
आँसु झारी
म त रोइरहेछु पल पल
आँसु नझारी।
म त रोई रहेछु जिन्दगीभर
आँसु नझारी।
डा.पनेरू , त्रि.बि.शिक्षण अस्पताल, काठमाडौँका उप प्राध्यापक तथा क्रिटिकल केयर (आइसियु) फिजिसियन हुनुहुन्छ ।