आज थप १९८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हाल कोरोना भाइरसको संक्रमणबाट २ लाख बढी निको भईसकेका छन् ।

संक्रमणबाट आज थप ३ हजार ४३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको कूल संख्या २ लाख २ हजार ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९० दशमलव ९ प्रतिशत रहेको छ ।

यसैगरी आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज १० हजार ३ सय ८१ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार १ सय ९१ जना पुरुष तथा ७ सय ८९ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ गरी काठमाडौ उपत्यकामा मात्रै १ हजार ७ जना संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

आज देशभर गरी १८ हजार ८ सय ८४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये १२ हजार २ सय ७१ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ६ सय १३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गम्भिर लक्षण देखिएका ३ सय ६५ जनाको आई.सी.यू र ६३ जनाको भेण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर