लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज जुममार्फत विशेष कार्यक्रमको आयोजना गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो ।
अभियानको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसा अन्त्य गर्दै समानतामूलक न्यायोचित समाज निर्माणका लागि सबैलाई समृद्ध, समानता, सभ्यता र न्यायको बाटोमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा संस्कृति, परम्परा र पछौटेपनलगायतका कारण महिला माथि विभिन्न प्रकारका हिंसा हुने गरेको भन्नुहुँदै आगामी दिनमा त्यस्ता हिंसा अन्त्यका लागि संविधान र कानुनको पालना गर्दै सबैले हातेमालो गरी सकारात्मक बाटोमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले विभेद अन्त्यका लागि शिक्षा, सचेतनामार्फत जागरूक गराउन सकिने बताउनुहुँदै अपराध कानुनको विरुद्ध र हिंसाको विषय भएकाले दण्डको माध्यमबाट नियन्त्रण गरी समानताको बाटोमा लान सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि देशमा समानतामूलक सुशासन कायम गर्दै समृद्ध र न्यायोचित समाज निर्माणको सङ्कल्पसहित सरकार अगाडी बढेको समेत स्पष्ट पार्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिला नाथ श्रेष्ठले महिला तथा बालबालिका माथि हुने हिंसाको अन्त्यका लागि कानुन निर्माण भइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले लैङ्गिक हिंसाको अन्त्यका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा आगाडी बढाउनु पर्ने तथा आफु र आफ्नो परिवारबाट हिंसा अन्त्यका लागि प्रतिबद्ध भएर सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता अग्नि खरेलले संविधान र कानुनले प्रत्याभूत गरेका महिला हिंसा विरुद्धका व्यवस्थाको कार्यान्वयन गर्ने गराउने कुरामा सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि राज्यको प्रतिबद्धतामा सहकार्य गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले प्रतिवर्ष दर्ता हुने ४२ प्रतिशत लैङ्गिक हिंसाका घटना मध्ये ९७ प्रतिशत महिला र बालिका माथि हुने गरेको र ७५ प्रतिशत हिंसाका घटना नातेदार र चिनिजानेकाबाट नै हुने गरेकाले यसको अन्त्यका लागि सबैको हातेमालो हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा, विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरू, लैङ्गिक हिंसा विरुद्धका अभियान्ताहरु, अधिकार कर्मीहरूको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइँदै आएको छ ।