प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरस विरुद्धको खोप लगाउनुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे खोप लगाई दोस्रो चरणको खोप अभियान शुभारम्भ गर्नुहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
भोलिदेखि सुरु हुने खोप अभियानमा १० दिनसम्म ६५ वर्ष माथि उमेर समूहका नागरिकलाई प्राथमिकतामा राखी खोप लगाइने र ११ औ दिन देखि बाँकी १० दिन सम्म ५५ वर्ष माथिका नागरिकलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताउनुभयो ।
मन्त्री त्रिपाठीले देशभर ६ हजार बढी खोप केन्द्रबाट सञ्चालन हुने खोप अभियानको यस चरणमा ३७ लाख व्यक्तिलाई खोप लगाइने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
यस्तै, भोलि कोभ्याक्स् सहयोगको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । उहाँले कोभ्याक्स सुविधा अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त हुने क्रम सुरु भएको बताउनुभयो ।
नेपालले कूल १ करोड ४८ लाख डोज खोप प्राप्त गर्ने प्रतिबद्धता अनुसार अव ५० लाख खोप खरिदको प्रक्रियामा रहेको समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच, आज ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५ सय ३५ वटा नमुनाको परिक्षण गर्दा ३३ पुरुष १४ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ ।
यस्तै आज ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ ।