आज देखि देशभरका जेष्ठनागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे शिक्षण अस्पताल महाराजगन्जमा खोप लगाई कोरोना खोप अभियानको दोस्रो चरणको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो ।
देशभरका खोप केन्द्रबाट आजदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्राथमिकता राखी खोप लगाउन सुरु गरिएको प्रा.डा गौतमले बताउनुभयो ।
यस चरणमा ६५ वर्ष माथिका १७ लाख ९१ हजार नागरिक खोपबाट लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जना स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी, पत्रकार, कुटनितिक नियोगका कर्मचारी, निजामति कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई खोप लगाई सकिएको छ ।
यस्तै, आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार १ सय ११ वटा नमुनाको परिक्षण गर्दा ४५ पुरुष र २१ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ ।
आज ५८ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ ।