महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरी मास्कको प्रयोगलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति नाथ मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोरोनाको जोखिम कायमै रहेकाले पशुपति नाथको दर्शनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सम्भव भएसम्म भौतिक दुरी कायम गर्दै, स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य गरिएको जानकारी दिनुभयो ।
यही फागुन २७ गते शिवरात्रिका दिन बिहान ४ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिने र यस पटक शुल्क तिरेर गरिने दर्शन र पासको व्यवस्था हटाइएको सदस्य सचिव ढकालले बताउनुभयो ।
दर्शनका लागि मित्रपार्क–गौरिघाट, उमाकुण्ड हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट १ लाइन, जयवागेश्वरी–इटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट १ लाइन र बत्तिस पुतली–गौशाला, एयरपोर्ट–तीलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चारशिवालय–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट गरी ३ वटा लाइनको व्यवस्था गरिएको छ ।
कोषका अनुसार भारतबाट स्थल मार्ग हुँदै आउने दर्शनार्थीको सङ्ख्यामा केही कमी हुने भए पनि हवाई मार्गबाट आउने दर्शनार्थी र साधु सन्त आउने क्रम शुरु भैसकेको छ ।
यस पटक दर्शनका लागि ७ देखि ८ लाखसम्म दर्शनार्थी आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।