अग्रज पत्रकार सुशील शर्माको निधन

अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।  

उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभई समस्या भोगी रहनुभएका उहाँको शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो ।    
    
राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्याउनुभएको थियो ।    

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँ मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिक स्वाभाव रहेको उहाँका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले स्मरण गर्नुहुन्छ ।  

उहाँको शुक्रवार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । स्व.शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।    –रासस


ताजा खबर