सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरुद्धको खोप यही २५ गतेदेखि लगाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले चीनद्वारा प्राप्त भेरोसेल खोप यहीँ २५ गते देखि काठमाडौँ स्थित तोकिएका अस्पतालहरूमा लगाउने निर्णय भएको जानकारी दिनुभयो ।प्रवक्ता प्रा.डा गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, हिमालय व्यापारमा संलग्न र चीनमा अध्ययनको तयारीमा रहेका व्यक्तिहरूलाई लगाइने निर्णय भएको जानकारी गराउनुभयो ।
यस्तै, आज देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ५६ वटा नमूनाको परिक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।आज १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ ।हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९८ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।