परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ ।
नेपाल भारत मैत्री सङ्घद्वारा काठमान्डौमा आज आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले गरेका सन्धि सम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री ज्ञवालीले नेपाल र भारत प्रतिस्पर्धी नभई एक अर्काका सहयोगी भएकाले भारतको विकास र समृद्धिबाट नेपालले लाभ लिने गरी दुई देशबीचका सबै समस्या राजनीतिक सहमतिका आधारमा समाधान गर्ने बताउनुभयो ।
मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र अन्तर्देशीय अपराधविरुद्ध नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले छिमेकी भारतसँगको सम्बन्धलाई व्यावहारिक रूपमै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।