विभागीय टिम नेपाल पुलिस क्लबले जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।
शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरका आधारमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो।
टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जीत हात पारेको हो। चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांश महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो। तर पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोलमा परिणत भएको थियो।
जीतसँगै पुलिसले रु छ लाख छ हजार ६६६ र रनिङ शिल्ड प्राप्त गरेको छ। उपविजेता बनेको चितवन–११ ले रु तीन लाख तीन हजार ३३३ पुरस्कार र उपविजेता शिल्ड प्राप्त गरेको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बने भने उनले रु २५ हजार नगद पुरस्कार पाए।
त्यस्तै उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुधन चौधरी बनाए। उत्कृष्ट रक्षक बनेका चितवनका सुधांश महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले रु १५÷१५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए।
फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्माले रु १० हजार पुरस्कार प्राप्त गरे। गत असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए।