परिवार नै संक्रमित भए सरकारले डोर टु डोर सेवा दिने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिडको महामारीमा सरकार नागरिकको स्वास्थ्य र सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै नागरिकले पनि सरकारको अपिल र आदेशको इमान्दार भएर पालना गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले सङ्क्रमितको उपचारमा अक्सिजन, आइसियु अभावको भएका बेला चीनबाट अक्सिजन र भारतबाट लिक्वीड ल्याउने प्रक्रियाको थालनी भइसकेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ उपत्यकामा देशभरिकै बिरामी आउने भएकाले बीर अस्पतालमा ५ सय बेड सङ्क्रमितलाई उपचार गर्न छुट्ट्याइएको, काठमाडौं महानगरपालिकाले पनि कोभिड अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले कसैको आफन्त नभएको खण्डमा, सबै संक्रमित भएर आइसोलेसनमा बसेको अवस्थामा सरकारले नै डोर टु डोर औषधि सहितको गाडीले सेवा दिने व्यवस्था मिलाइने र यसको व्यवस्थापन नेपाल रेडक्रसले गर्ने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले गत वर्षको जस्तो किसानले तरकारी, दूध बेच्न नपाएर फालेका समाचार यो वर्ष पढ्न नपरेको जानकारी दिनुहुँदै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रीबसको व्यवस्थापन गरेर अलपत्र परेका नागरिकलाई गन्तव्यमा पुर्‍याएको जानकारी दिनुभयो । ‍‍-रासस


ताजा खबर