अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु पर्यो । मानवीय सङ्कटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट बिरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिनु भएको छ ।
विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिनु भएको हो ।कोभिड १९ को दोस्रो भेरियन्ट सङ्क्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिनुहुँदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिनु भएको थियो ।
तत्कालको काम अक्सिजन आपूर्ति
प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि आवश्यक अक्सिजन आपूर्ति, उत्पादन र वितरणमा लाग्न निर्देशन दिनुभयो ।घरघरमा अक्सिजनको सिलिण्डिर राख्ने र अस्पतालमा अक्सिजन अभाव हुने गरेकोप्रति लक्षित गर्दै उहाँले त्यसका लागि आवश्यक सचेतना आवश्यक रहेको बताउनुभयो ।
‘सुरक्षाका मापदण्ड नअपनाउने, कोभिड लाग्छ भनेर अक्सिजन घरमै लगेर राख्ने प्रवृत्ति बढेको छ, यसले अस्पतालको बिरामीलाई पनि बचाउन सक्दैन र घरमा राखेको अक्सिजनले पनि काम गर्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस कुरामा जनचेतना जगाउनु आवश्यक देखियो ।’ सरकारले तत्काल गर्ने कामको रुपमा अहिले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई लिएको उहाँको भनाई थियो ।प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता प्रस्तुत गर्दै भन्नुभयो, ‘अक्सिजन खरिद र वितरणका लागि तत्काल के के गर्नुपर्छ गर्ने, निजी अस्पतालमा बढेको नाफाखोर प्रवृत्ति हटाउने, भेन्टिलेटर अपुग भए तत्काल मगाएर त्यसको पूर्ति गर्ने काम गर्नु पर्यो ।
मानवीय सङ्कटको बेला ३५ दिने सूचना पर्खेर बसे नागरिकको ज्यान जान्छ ।’बिरामीलाई खोजेको औषधि र अन्य उपचार सामग्री नपाएर मर्छु भन्ने मनोविज्ञानबाट समेत मुक्त गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘बिरामीले मैले खोजेको औषधि पाउँदिनँ, अक्सिजन पाउँदिनँ भन्ने सोच्नु नपरोस्’ प्रधानमन्त्रीले भन्नुभयो, ‘तत्काल उपलब्धता र सुलभताका लागि तपाईँहरू सबैको सक्रियता आवश्यक छ ।’
अफवाह फैलाएर ह्यारेसमेन्ट नगरौँ
प्रधानमन्त्री ओलीले मानवीय सङ्कटका बेला तत्काल आवश्यक सामग्री खरिद गर्दा अफवाह फैलाएर जे कुरामा पनि भ्रष्ट्राचार नै हुन्छ भन्ने स्थायी प्रचारले काम गरिरहेकाहरूको मनोबल गिर्नेतर्फ सचेत रहन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
‘भ्रष्टाचार भयो भने क्षम्य हुँदैन, तर मानव सङ्कटलाई राजनीतिकरण गर्न स्थायी रुपमा भ्रष्टाचारको अफवाह फैलाएर महामारीसँग अग्र मोर्चामा लडिरहेकालाई ह्यारेसमेन्ट गर्ने, कदनाम गर्ने र कामबाट निरुत्साहित गर्ने प्रवृत्ति छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानवीय रक्षाको लागि गरेका प्रयासहरूलाई विकृत रुपमा व्याख्या गर्ने पेसा नै भएकाहरूसँग सजग रहेर महामारीबाट जनतालाई बचाउनुपर्दछ ।’प्रधानमन्त्री ओलीले विज्ञहरूलाई आफूले प्रयोग गर्ने टर्मिनोलोजीमा परिवर्तन गर्न सुझाव दिनुभयो ।
‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौँ, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको होइन’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हामीसँग यसअघि नभएका प्रणालीहरूलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौँ, त्यसैले प्रणाली कोल्याप्स भएको होइन ।’
महामारीलाई राजनीति लाभको विषय नबनाऔँ
विश्वव्यापी रुपमा आएको महामारी सबैको साझा समस्या भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका विरुद्ध मिलेर सामना गर्नु पर्ने बताउनुभयो ।उहाँले राजनीतिक विपक्षीहरूले सरकारले कामै गरेर भनेर महामारीबाट लाभ लिने प्रयास गरेको पनि बताउनुभयो ।
‘हाम्रा विपक्षीले भनेजस्तो सरकारले केही नगरेको होइन, सरकारले गरेको छ, गर्छ र गर्नेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सिमसिम पानीमा छाता ओढेर ओत लागेजस्तो आँधी आउँदा छाताले थेग्दैन । त्यस्तै भएको हो ।
’छलफलमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयका तर्फबाट अहिले भएका कामबारे रिपोर्ट प्रस्तुत गरिएको थियो । उपत्यकाका विभिन्न अस्पतालका सञ्चालक, अक्सिजन उत्पादक र वितरकहरूले आ–आफ्नो तर्फबाट महामारी नियन्त्रण प्रभावकारी बनाउनेबारे सुझाव दिनु भएको थियो ।