थप ९,२४७ जनामा कोरोना पुष्टि : ५,७६७ सङ्क्रमणमुक्त

देशभर कोरोना भाइरसबाट ९ हजार २ सय ४७ जना संक्रमित भएका छन् ।

२१ हजार ६ सय ५३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार १ सय ९८ जना तथा ४ सय ३४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । देशभरबाट गएको २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७४ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।देशभरि आज कोरोना सङ्क्रमणबाट २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार २ सय १५  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख १३  हजार ४ सय ८० सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

अबको केही हप्ता चुनौतीपूर्ण/निषेधाज्ञामा ५९ प्रतिशत मात्र आवतजावतमा कमी 

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने जनाएको छ ।आज एक सूचना जारी गर्दै मन्त्रालयले निषेधाज्ञाको समयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको र मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी भएको जनाएको हो ।

सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।त्यसैगरी, केही अस्पताले बिरामीलाई अक्सिजन लिएर आए मात्र उपचार गर्ने भन्ने गुनासो आएकाले त्यसमा गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै अक्सिजन जस्तो औषधीय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहीँ कतै कसैले गरेको पाइएमा नियमानुसार कारबाही गरिने जनाएको हो ।

साथै मन्त्रालयले अस्पताल पुगेका अक्सिजन सिलिन्डरहरू अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने र सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गर्नु गराउन सबै अस्पतालहरूलाई अनुरोध गरेको छ ।


ताजा खबर