राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सबै तयारी पुरा

 निर्वाचन आयोगले भोलि (बिहीबार) हुने वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय४८ जना मतदाता रहेको निर्वाचन मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचक मण्डलका सबै मतदाताहरूलाई भोलि बिहान ९ः०० बजेदेखि ३ः०० बजेसम्म हुने मतदानमा सहभागी हुन आयोगले अनुरोध गरेको छ ।

उपनिर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुसार यही जेठ ३ गते राती १२ः०० बजेपछि निर्वाचनको मौन अवधि सुरु भइसकेकोले यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न गराउन सम्बद्ध सबैसँग आयोगले अनुरोध गरेको छ ।

निर्वाचन आचार संहिता एक कानुनी आधार र नैतिक बन्धन पनि भएकोले सोको पालना गरी निर्वाचनलाई निष्पक्ष ढङ्गबाट सञ्चालन गर्ने आयोगको कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा आयोगले अपिल समेत गरेको छ । –रासस


ताजा खबर