काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप गरिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकामा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/०२/२१ गतेबाट २०७८/०२/३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म पुर्याइएको छ ।यसअघि जेठ १४ गतेदेखि जेठ २० गतेसम्म गरिएको निषेधाज्ञा अनुसार किराना पसलहरू समेत बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ः०० बजेसम्म खुला गर्ने निर्णय भएको छ ।
निषेधाज्ञा अवधिभर सर्वसाधारणको आवतजावतको हकमा औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने, दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने, अनिवार्य रूपले मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने उल्लेख गरिएको छ ।
त्यसै गरी सभा सम्मेलन तथा नित्य पूजाको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहरी, नाचघर, क्लब, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिम खाना, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना रङ्गशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने, खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाइन, विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने ।
होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने, विवाह वा व्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्न पाउन , पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाइने जनाइएको छ ।त्यस्तै शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा क. शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) सञ्चालन गर्न गराउन साथै शैक्षिक परीक्षाहरू सञ्चालन गर्न गराउन नपाइने, वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि कूटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने, नेपाल सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने, अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गरी कार्यस्थलमा नै श्रमिक कामदारको आवासीय व्यवस्था गरी सञ्चालन गर्ने जनाइएको छ ।
त्यसैगरी ट्रान्सपोर्ट कम्पनीको हकमा औषधी तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, अस्पतालको बेड, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री मात्र ढुवानी गर्दा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने । नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी कृषि कार्य गर्न सकिने छ ।
त्यस्तै अत्यावश्यक कार्यमा सवारी आवागमनका लागि जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण क. मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेस गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेस गर्ने, बिरामी तथा कुरुवाको हकमा काठमाडौँ जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा २ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भई काठमाडौँ बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेस गर्ने, सुरक्षा गार्डहरूको हकमा परिचय पत्र र पोसाक लगाएर ड्युटी आवत जावत गर्न पाउने बताइएको छ ।
त्यस्तै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८/०२/२१ गते बिहान १ः०० बजेदेखि २०७८÷०२÷३१गते राति १२ः०० बजेसम्म काठमाडौँ जिल्लाभर सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्ला भित्र प्रवेशमा रोक लगाउन, अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोर मैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने, तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, इन्धन, खाना पकाउने ग्यास, सरसफाइमा प्रयोग गरिने मास्क/ साबुन/ स्यानिटाइजर र प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा सो को यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ९ः०० बजे देखि बिहान ९ः०० बजे सम्म न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसै गरी अत्यावश्यक खाद्य सामग्री तथा अन्यको हकमा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरू, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ९ः०० बजेसम्म मात्र खुला गर्ने, तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने, स्थानीय ढुवानीका हकमा राति९ः०० बजे देखि बिहान ९ः०० बजे सम्म मात्र गर्ने, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरू, किराना पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र), सवारी साधन मर्मतका लागि वर्कसपहरूले सामग्री किनबेच गर्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने लगायत उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिभर के गर्न पाइन्छ र के गर्न पाइँदैन ? (प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश):