सरकारले कोरोना भाइरसको दोस्रो लहर जस्तै पुन तेस्रो लहर आउन सक्ने भएकाले बालबालिकाका लागि २० प्रतिशत कोभिड शय्या तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोभिडको तेस्रो लहरबाट बालबालिका बढी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले देशभरका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई अस्पतालको शय्याका साथै वैकल्पिक प्राण वायु अक्सिजनको व्यवस्थापन गर्न समेत अनुरोध गर्नुभएको हो ।