युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेलहरू हुँदै छन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह ’सी’ को दुई खेल र समूह ’बी’ को एक खेल हुने छन् । आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ’सी’ मा रहेको दुई टोलिबीचको खेल भने अहिले भइरहेको छ ।
आज युक्रेन पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौथो स्थानमा रहेको छ ।
आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । ३ अङ्क जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ । –रोयटर्स