भारतका चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ ।
‘श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान मुम्बईस्थित हिन्दुजा अस्पतालको आइसीयुमा भर्ना भएर उपचार गराइरहेका उनको ९८ बर्षको उमेरमा आज विहान निधन भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
फिल्म क्षेत्रमा पाँच दशक बिताएका बलिउडका एक महान कलाकार दिलिप कुमारलाई बलिउडको ‘पहिलो खान’ भनेर समेत सम्बोधन गरिने गरिएको थियो । १९४० को दशकदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका उनको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले चलचित्र क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गरी दिलिप कुमार राखेका हुन् ।
वलिउडका ट्रयाजिडि किङ्ग भनेर चिनिएका दिलिप कुमारलाई पद्म विभूषण, दादा साहेब फाल्के अवार्डसहित कैयौं पुरस्कारबाट सम्मान गरिएको थियो । उनले गिनिज बुकमा सबैभन्दा धेरै अवार्ड पाउने भारतीय कलाकारको कीर्तिमान समेत राखेका थिए ।
कोहिनुर, मुगल ए आजाम, शक्ति, राम ओर श्याम जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका कुमार अन्तिम पटक सन् १९९८ मा बनेको चलचिल किलामा देखिएका थिए ।
तरनाको शुटिङका क्रममा मधुबाला र कुमार प्रेम सम्बन्धमा गाँसिएको र उक्त सम्बन्ध सात वर्षसम्म चलेको थियो । तर उक्त सम्बन्ध विवाहमा परिणत हुन सकेको थिएन । १९५० को दशकमा उनी र बैजयन्थीमालाबीच सम्बन्ध रहेको चर्चा समेत चलेको थियो ।
तर कुमारले सन् १९६६ मा अभिनेत्री सैरा बानुसँग विवाह गरे । उनले सन् १८८१ मा पुन: आस्मा सहिबासँग दोस्रो विवाह गरे तर दुईवर्षपछि नै दुबै जनाले सम्बन्ध विच्छेद गरेक थिए । हाल उनी बान्द्रामा सैरा बानुसँग बस्दै आएका थिए । दुबैजनाका कुनै सन्तान छैनन् । –एएनआई