सरकारले चीनसँग खरिद गरेको कोरोना विरुद्धको खोप अन्तगर्त पहिलो चरणमा आज ८ लाख डोज भेरोसेल नेपाल आइपुगेको छ ।
चीनको राजधानी बेइजिङबाट खोप बोकेर उडेको नेपाल एयरलायन्सको वाइडबडी विमान शुक्रबार विहान साढे ६ काठमाडौँ अवतरण गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले ८ लाख डोज खोप आएको जानकारी दिनुभयो । उहाँले अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो ।
जहाजमा स्पेसका कारण पहिलो चरणमा ८ लाख डोज मात्रै खोप आएको बताइएको छ । यसअघि १० लाख खोप आउने भनिएको थियो । आज ल्याइएको खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिने छ । भेरोसेल खोप अब नियमित नियमित रुपमा आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनसँग किनेको भेरोसेल खोप ५५ वर्ष उमेर समूहका व्यक्तिलाई दिने तयारी सरकारको छ । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोपको नन डिस्क्लोजेवल एग्रिमेन्ट गरेको छ । परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलकशर्मा गौतमले खोप प्राप्त भएको ७ देखि १० दिनभित्र खोप लगाउन सुरु गरिने बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय खोप कार्यान्वयन योजना अनुसारनै खोप दिइने छ । अहिलेसम्म ५५ देखि ६० वर्षभन्दा कम उमेरकालाई खोप नदिएकाले अबको खोपको प्राथमिकतामा सोही उमेरसमुह पर्ने उहाँले बताउनुभयो । यद्यपी यसबारे औपचारिक निर्णय भइनसकेको उहाँले बताउनुभयो साथै, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिपनि अबको खोपको प्राथमिकतामा पर्ने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २४ गते सम्मको तथ्यांकअनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोभिड खोप लगाइसकेका छन् । जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले दोस्रो मात्रा लगाएका छन् । हालसम्म नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको मात्रै प्रयोग भइरहेको छ । –रासस