‘म्याद सकिएको खोप लगाएका छैनौँ’ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।    
    
मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।   
    
नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । “कोरोना भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ ।

अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । –रासस


ताजा खबर